समाचार सुन्नुहोस :
काठमाडौँ – जापानमा पछिल्ला दिनहरूमा भालु आक्रमण बढेपछि प्रहरीले आवश्यक अवस्थामा भालुहरूलाई गोली हान्न अनुमति पाएको छ। बिहीबारदेखि लागू भएको यो निर्णय जनताको सुरक्षाका लागि सरकारले कडा हातहतियार सम्बन्धी कानुन संशोधन गरेको हो।
अप्रिलदेखि देशभर जनावरको आक्रमणमा १३ जनाको मृत्यु भएको छ, भने भालुहरू घरभित्र पस्ने, विद्यालय नजिक घुम्ने र पसलहरूमा तोडफोड गर्ने घटनाहरू बढिरहेका छन्। वैज्ञानिकहरूले घट्दो मानव जनसंख्या र बढ्दो भालु सङ्ख्याका कारण आक्रमण बढेको बताएका छन्।
अकिता र इवाटे प्रान्तका उत्तरी क्षेत्रहरूमा बिहीबार आयोजित समारोहपछि प्रहरीलाई राइफलसहितका हतियार प्रयोग गर्न औपचारिक अनुमति दिइएको हो। टोकियोस्थित अमेरिकी दूतावासले पनि बुधबार सूचना जारी गर्दै भालु देखिएका स्थानहरूमा नजान र एक्लै नहिँड्न चेतावनी दिएको छ। बेलायती सरकारले पनि आफ्ना नागरिकलाई त्यस्तै सावधानी अपनाउन आग्रह गरेको छ।
इवाटे प्रान्तको हानामाकी विमानस्थलमा बुधबार भालुको बच्चा देखिएपछि रनवे करिब एक घण्टा बन्द भएको र दुई उडान ढिलाइ भएको समाचार एएफपीले जनाएको छ। भालु नियन्त्रणका लागि सरकारले केही क्षेत्रमा सैनिक पनि परिचालन गरेको छ। तर उनीहरूलाई सिकार गर्ने अनुमति भने दिइएको छैन।








