समाचार सुन्नुहोस :
काठमाडौँ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीमा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या उत्साहजनक देखिएको छ। जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर रतन चन्दका अनुसार असोज ९ गतेदेखि सुरु भएको नामावली सङ्कलन र अद्यावधिक कार्यअन्तर्गत हालसम्म ६ सय १८ जनाले नाम दर्ता गराइसकेका छन्। तीमध्ये २०१ जना महिला र ४१७ जना पुरुष छन्।
त्यस्तै, बाहिरी जिल्लाका दुई महिला र सात पुरुषले पनि नाम दर्ता गराएका छन्। यसअघि बैतडीमा एक लाख ६१ हजार ३१२ जनाको नाम मतदाता नामावलीमा समावेश भएको थियो, जसमा ८२ हजार १२६ पुरुष, ७९ हजार १८४ महिला र दुई तेस्रोलिङ्गी थिए। निर्वाचन आयोगको वेबसाइटमार्फत अनलाइन रूपमा आफ्नो विवरण भर्ने सुविधा पनि उपलब्ध छ। अनलाइन फारम भरेपछि त्यसको प्रिन्ट लिएर फोटो र औँठाछापका लागि निर्वाचन कार्यालयमा जानुपर्छ, त्यसपछि नाम दर्ता प्रक्रिया पूरा हुन्छ।
जिल्ला निर्वाचन कार्यालयले नाम दर्ता छुटेकालाई सक्दो चाँडो नाम दर्ता गर्न आग्रह गरेको छ। १६ वर्ष पुगेका र नेपाली नागरिकता लिएका व्यक्तिले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन्। तर, मतदान अधिकार प्रयोग गर्नका लागि १८ वर्ष पूरा भएको हुनुपर्छ।








