समाचार सुन्नुहोस :
काठमाडौँ – साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ३.२१ अंकले बढ्दै २५६५.१६ विन्दुमा पुगेको हो।
आज बजारमा १४२ कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ कम्पनीको घटेको छ। त्यस्तै, १० कम्पनीको मूल्य स्थिर रहेको छ। ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१९ अंकले घटेर ४४४.३७ विन्दुमा पुगेको छ। आज कारोबार भएका १३ मध्ये ७ उपसूचकमा सुधार आएको छ भने बाँकी ६ उपसूचक घटेका छन्। परिसूचकमा सुधार भए पनि कारोबार रकम साढे ३ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार, आज ३२७ कम्पनीका ७९ लाख ४७ हजार ५८ कित्ता सेयर ५५ हजार ६३२ पटक खरिद–बिक्री हुँदा कुल कारोबार रकम ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार रुपैयाँ पुगेको छ। साथै, आज ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको पनि नेप्सेले जनाएको छ।








