समाचार सुन्नुहोस :
काठमाडौँ – २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्मजयन्ती सोमबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।
नेपाली राजनीतिमा त्याग र साहसका प्रतीकका रूपमा चिनिने सिंह सबैको सम्मान र निष्ठाको केन्द्र बनेका थिए।
२०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले उनलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरे पनि उनले त्यो अवसर आफ्नो सहकर्मी कृष्णप्रसाद भट्टराईलाई दिए। यस कदमले सिंहलाई राजनीतिमा त्यागको उच्च उदाहरणका रूपमा स्थापित गर्यो।
सिंहको जन्म १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा भएको थियो। उनी काठमाडौंको एक प्रतिष्ठित परिवारमा जन्मिए पनि जनताका पक्षमा जीवन समर्पण गरे। विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद् का सदस्य बनेर उनले राणा शासनविरुद्धको आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए।
गणेशमान सिंहको निधन विसं २०५४ असोज २ गते भएको थियो।








