समाचार सुन्नुहोस :
काठमाडौँ – मधेस प्रदेश सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सहभागी भएको छ। नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा बनेको सरकारमा राप्रपाबाट कञ्चन विच्छा मन्त्री बनेका हुन्।
तर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको निर्णय विपरीत सरकारले सहभागी भएकामा असन्तुष्टि जनाएका छन्। उनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिता ‘पार्टी अनुशासनको गम्भीर उल्लंघन’ भएको बताएका छन्।
लिङ्देनले मन्त्री बनेकालाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिएका छन्। उनले चेतावनी दिँदै भनेका छन्, “अन्यथा पार्टी विधान अनुसार कारबाही हुनेछ।” राप्रपाका संघीय तथा प्रदेश सांसदहरूले गत भदौ २४ गते सामूहिक राजीनामा दिएका थिए। त्यही राजीनामा दिएका सांसद मध्येका एक अहिले मन्त्री बनेका हुन्।
आइतबार अबेर राति प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले नेता सरोजकुमार यादवलाई मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। यादवले सिन्धुली र महोत्तरीको सिमानामा पर्ने एक होटलमा सपथ ग्रहण गरेका थिए। मुख्यमन्त्री यादवले तीन जना मन्त्री नियुक्त गरेका छन्—एमालेबाट लखन दास, समाजवादी पार्टीबाट विमला अन्सारी र राप्रपाबाट कञ्चन विच्छा।








