टोकियो – जापानमा एकीकृत नेपाली घरः बहु साँस्कृतिक केन्द्र निर्माणका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले गैर आवासीय संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानको आयोजना र जापानमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरुसंगको सहकार्यमा ८ नोभेम्बरदेखि १५ नोभेम्बरसम्म टोकियोमा सञ्चालित भएको श्रीमद्भागवत ज्ञान महायज्ञ टोकियो सप्ताह-२०२५ दोस्रो दिन आईतवार उत्साहजनक भक्तजनहरुको उपस्थितिमा सम्पन्न भएको छ।
जापानवासी नेपालीहरुको उल्लेख्य उपस्थितिमा वाचन प्रविण पण्डित दीनबन्धु पोखरेल र महान बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिम्पोर्छेले बिहान बैद्धिक विधिद्वारा महायज्ञको सुरुवात गर्नुभएको थियो । विधिवत् रुपमा महायज्ञको दोस्रो दिन शुभारम्भ पश्चात सनातन र बौद्ध धर्म अनुसार बैद्धिक विधिले तोकिएका पूजा गरि कथा वाचन गरिएको थियो ।
आज दोस्रो दिनसम्म संकलित कुल रकम २ करोड ९४ लाख ७ हजार ८ सय ३० येन रहेको छ। उक्त कुरा एनआरएनए जापानका प्रवक्ता रविन शर्माद्वारा प्रेषित प्रेस नोटमा जनाईएको छ ।प्रेस नोटमा भनिएको छ – ‘यो रकम भक्तजनहरूको समर्पण, विश्वास र समाजप्रतिको उत्तरदायित्वको प्रत्यक्ष प्रतिविम्ब हो । आयोजक समिति सम्पूर्ण सहयोगी, समर्थक तथा सहभागी भक्तजनहरूमा हृदयदेखि आभार व्यक्त गर्दछौं ।’
‘कार्यक्रममा उपस्थित गुरुहरुको शुभकामना प्रवचन तथा मार्गदर्शनले सप्ताहको सार र उद्देश्यलाई झनै सबल बनाएको हामीले महसुस गरेका छौं’ – प्रेस नोटमा उल्लेख छ – ‘गुरुहरूले अध्यात्म भनेको जीवनलाई सकारात्मकता, प्रेम, करुणा र सत्य मार्गतर्फ उन्मुख गराउने शक्ति हो भन्ने विचार व्यक्त गर्दै विदेशमा पनि संस्कारलाई जगेर्ना गर्न सबैलाई प्रेरित गर्नुभयो ।’
प्रेस नोटमा अगाडि भनिएको छ – ‘हामी सबैको सामूहिक समर्पण, सेवा भावना र सहभागिताले नै टोकियो सप्ताहलाई अझ प्रभावशाली बनाइरहेको छ । बाँकी दिनहरूमा पनि सबैलाई भक्तिभावका साथ सहभागी भई कार्यक्रमलाई सफल बनाउन हार्दिक अनुरोध गर्दछौं । सधैँजस्तै तपाईंहरूको माया, समर्थन र सकारात्मक उपस्थिति नै हाम्रो प्रेरणाको स्रोत हो ।’
श्रीमद्भागवत ज्ञान महायज्ञ टोकियो सप्ताह हिजो ८ तारिख शनिबारदेखि टोकियो शिन्जुकुको खाबुखिच्योमा भईरहेको छ । **** महायज्ञको झलक भिडियोमा





























