समाचार सुन्नुहोस :
काठमाडौँ – एकता विवादले उल्झिएको नेकपा (एकीकृत समाजवादी) भित्र पुनर्गठन पक्षधर समूहले नयाँ नेतृत्व चयन गरेको छ। पार्टी विभाजनअघि महासचिव रहेका घनश्याम भुसाललाई पुनर्गठित नेकपा (एकीकृत समाजवादी) को संयोजक बनाइएको छ।
शनिबार राति बसेको भर्चुअल (जुम) बैठकले ६७ जना केन्द्रीय सदस्यहरूको सहमतिमा भुसाललाई संयोजकको जिम्मेवारी दिएको केन्द्रीय सदस्य अमृतसागर बस्नेतले जानकारी दिए। बैठकले पार्टीको नाम, झण्डा र चुनाव चिन्ह यथावत राख्ने निर्णय गरेको छ। तर कानूनी र संसदीय व्यवस्थासम्बन्धी प्रावधानको अध्ययन गरी आवश्यक परे कदम चाल्ने योजना बनाइएको बस्नेतले बताए।
पुनर्गठित पार्टीले विशेष महाधिवेशन अघि नै मंसिर महिनाभित्र राष्ट्रिय भेला गर्ने तयारी गरेको छ। उक्त भेलाको मिति चाँडै घोषणा गरिने र पार्टीका नेता–कार्यकर्तामा देखिएको अन्योलता हटाउन सबैले सक्रिय भूमिका खेल्ने निर्णय बैठकले गरेको छ।








