स्थानीयले रोके मेलम्चीको पानी, राजधानीमा फेरि खानेपानी संकट
समाचार सुन्नुहोस :
काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका स्थानीयले पानी सुरुङमा जान नदिएपछि हाल काठमाडौंमा मेलम्चीको पानी आपूर्ति बन्द भएको छ। लामो समयदेखि राखिएका मागहरू पूरा नभएको भन्दै स्थानीयले बिहीबार दिउँसो साढे १ बजेदेखि पानी पठाउन रोकेका हुन्। यसका कारण उपत्यकामा पुनः खानेपानी संकट गहिरिने चिन्ता बढेको छ।
२०७८ सालको भीषण बाढीपछि तत्कालीन खानेपानी मन्त्री प्रदीप यादव र हेलम्बु–मेलम्ची क्षेत्रका स्थानीयबीच भएको लिखित सम्झौता कार्यान्वयन नहुँदा स्थानीयहरू आन्दोलित बनेका हुन्। हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोका अनुसार राज्यले स्थानीयसँग गरेको वाचा पूरा नगरेकाले उनीहरू पानी बन्द गर्न बाध्य भएका हुन्।
अध्यक्ष ह्योल्मोले भने, “२०७८ सालको बाढीले ठूलो क्षति पुर्यायो। त्यसपछि तत्कालीन मन्त्रीकै उपस्थितिमा बाढीपीडित र स्थानीयबीच विस्तृत सम्झौता गरिएको थियो।” उनले सम्झौतामा बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण, स्थानीय विकास र पीडितको न्याय सुनिश्चित गर्ने प्रावधान रहे पनि अझै कार्यान्वयन नभएको बताए।
उनका अनुसार, “राज्यले गर्न नसक्ने वाचा गर्नुभयो, अब त्यसको पालन हुनैपर्छ। जनतालाई धोका दिइयो भने प्रश्न उठ्नु स्वाभाविक हो।” एक वर्षभन्दा बढी समय बितिसक्दा पनि सम्झौता लागू नभएपछि स्थानीयमा राज्यप्रतिको अविश्वास र आक्रोश बढ्दै गएको उनले बताए।