समाचार सुन्नुहोस :
काठमाडौँ- काठमाडौं महानगरपालिकाले अबदेखि आफ्ना आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रमार्फत निःशुल्क वितरण गर्ने औषधि र सामग्री सिंहदरबार वैद्यखानाबाट लिने निर्णय गरेको छ। कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत वैद्यखानाले लागत मूल्यमा आवश्यक आयुर्वेदिक औषधि उपलब्ध गराउने सम्झौता भइसकेको छ।
स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले यस कदमले आधारभूत स्वास्थ्य सेवाअन्तर्गत आयुर्वेदिक औषधि वितरण सहज हुने विश्वास व्यक्त गरे। कार्यक्रमका फोकल पर्सन ज्ञानबहादुर ओलीका अनुसार नेपाल सरकारले निःशुल्क वितरणका लागि तोकेका औषधि वैद्यखानाबाट उपलब्ध हुने भएकाले कामपाले त्यहीँबाट औषधि लिने तयारी गरेको हो। यसअघि पनि कामपाले नेपाल औषधि लिमिटेडसँग यस्तै सहकार्य गरेको थियो।
सम्झौताअनुसार वैद्यखानाले कम्तीमा ७५ प्रतिशत उपभोग अवधि बाँकी रहेका औषधि सात दिनभित्र उपलब्ध गराउनेछ। यी औषधिहरू कामपाले आफ्ना केन्द्रहरूबाट निःशुल्क वितरण गर्ने जनाएको छ। वैद्यखानाका कार्यकारी निर्देशक डा. प्रदीप केसीले औषधिको गुणस्तरमा विशेष ध्यान दिँदै माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।








