समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध नेकपा एमाले निकट युवा संघ नेपालले साइबर ब्युरोमा उजुरी दिएको छ। संघका अनुसार मेयर शाहले सामाजिक सञ्जालमा लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको र राष्ट्रियताको भावनामा आघात पुर्याएको छ। युवा संघका अध्यक्ष क्षितिज थेबेले शाहको स्टाटसले नेपालको स्वाधीनतामाथि प्रश्न उठाउने काम गरेको भन्दै कानुनी कारबाहीको माग गरेका छन्।
गत शनिबार मध्यराति मेयर शाहले अश्लील र आपत्तिजनक शब्द प्रयोग गर्दै सामाजिक सञ्जालमा एक स्टाटस लेखेका थिए। उक्त पोस्टमा उनले चीन, भारत, अमेरिका र नेपालका प्रमुख दलहरूको नामसमेत उल्लेख गरेका थिए। आलोचना सुरु भएपछि शाहले स्टाटस हटाए पनि त्यसको स्क्रिनशट सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको थियो।
सोही विषयमा युवा संघका उपाध्यक्ष महराज गुरुङसहितका नेताहरूले राजधानीका मेयरजस्तो जिम्मेवार व्यक्तिले अशोभनीय भाषा प्रयोग गरेको भन्दै छानबिन र कारबाहीको माग गरेका छन्। साइबर ब्युरोका अधिकारीका अनुसार उजुरी प्राप्त भइसकेको छ तर अहिले पनि दर्ता प्रक्रियामा रहेको जानकारी दिएका छन्।








