समाचार सुन्नुहोस :
काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काठमाडौंको नयाँ बसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका छन्। पदबहालीको क्रममा सार्वजनिक स्थलमा निःशुल्क वाइफाइ सुविधा विस्तार गर्ने प्रतिबद्धता जनाएका मन्त्री खरेलले बुधबार नयाँ बसपार्क पुगेर सेवा सुरु गरेका हुन्।
उनका अनुसार काठमाडौं उपत्यकाका १९ स्थानमा निःशुल्क इन्टरनेट सेवा जडान गरिएको छ। सरकारले राजधानीसहित दुर्गम क्षेत्रमा पनि प्रभावकारी इन्टरनेट पहुँच विस्तार गर्न प्राथमिकता दिएको उनले बताए। हाल दार्चुला, जाजरकोट, बझाङ, मनाङलगायत स्थानमा सेवा पुगेको र अन्य जिल्लामा पनि विस्तार हुँदै गएको जानकारी उनले दिए।
मन्त्री खरेलका अनुसार सातै प्रदेशका राजधानीमा निःशुल्क इन्टरनेट सेवा पुर्याउने योजना अघि बढाइएको छ। मन्त्रालयका सचिव राधिका अर्यालले सूचना प्रविधि क्षेत्रको मागअनुसार देशभर इन्टरनेट क्षमता बढाउने काम भइरहेको बताइन्।नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीका अनुसार काठमाडौंका प्रमुख अस्पताल, पशुपतिनाथ क्षेत्र र विमानस्थलमा पनि निःशुल्क वाइफाइ सेवा विस्तार भइसकेको छ। निःशुल्क वाइफाइको निरन्तरता र सुधारका लागि नेपाल टेलिकम, वर्ल्डलिङ्क र भायनेट कम्पनीले सहकार्य गर्ने भएका छन्।








