समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित दश वामपन्थी दलबीच एकता घोषणा गरिएको छ। बुधबार भृकुटीमण्डपमा आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी), नेकपा (साम्यवादी) लगायत दलहरू एकीकृत भएका हुन्।
नवगठित पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राखिएको छ। एकता समारोहमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेता नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, महेन्द्रराय यादवलगायत शीर्ष नेता सहभागी थिए। पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र नेपाली विशेषताको वैज्ञानिक समाजवाद रहनेछ। नयाँ पार्टीको चुनाव चिह्न ‘पाँचकुने तारा’ तय गरिएको छ।
वरिष्ठ नेता प्रमेश हमालका अनुसार सुशासन, सामाजिक न्याय र आर्थिक रूपान्तरणका लागि वाम शक्तिहरूबीच एकता आवश्यक थियो। पार्टीले समाजवादको आधार तयार गर्दै राष्ट्रिय स्वाधीनता र जनताको अधिकार सुदृढ गर्ने लक्ष्य लिएको छ।








