
काठमाडौं – पछिल्लो पटक सन् १९५८ मा फिफा विश्वकप खेलेको वेल्सले आज (सोमबार) ६४ वर्षपछि कतारमा पहिलो खेल खेल्दै छ । रोब पेजको प्रशिक्षणमा रहेको वेल्सले आज अमेरिकाविरुद्ध खेल्दै कतार विश्वकपको सुरुआत गर्नेछ ।
अल रायन रंगशालामा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ । १९५८ को विश्वकपमा वेल्सले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । जहाँ ब्राजिलसँग १–० ले पराजित भएपछि वेल्स अन्तिम आठबाट बाहिरिएको थियो ।
विश्वकपमा वेल्स समूह ‘बी’ मा छ । यो समूहमा वेल्स र अमेरिकासँगै इङ्ल्यान्ड र इरान छन् । यो समूह रहेका टिमहरूको फिफा वरीयता औसतमा अन्य समूहको भन्दा बढी रहेकाले समूह ‘बी’ लाई ‘ग्रुप अफ डेथ’को रुपमा पनि चित्रण गरिएको छ । समूहबाट शीर्ष दुई टिमले प्रतियोगिताको अन्तिम १६ मा स्थान बनाउँनेछन् ।








