समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी रहेको छ। सोमबार मात्र सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँले घटेर २ लाख ७५ हजार ५ सय रुपैयाँमा पुगेको छ। यसअघि आइतबार पनि १२ हजार ५ सय रुपैयाँले गिरावट आएको थियो।
एक साताको अवधिमा सुनको मूल्य झन्डै ३४ हजार रुपैयाँले घटेको छ। गत सोमबार तोलामा ३ लाख ९ हजार ५ सय रुपैयाँ रहेको सुन अहिले उल्लेख्य रूपमा सस्तो भएको हो। केही समयअघि, माघ १५ गते, सुनको मूल्य हालसम्मकै उच्च ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दा डलरको माग पनि बढेको छ। यसले सुन बेचेर डलर संकलन गर्ने प्रवृत्ति बढ्दा सुनको मूल्य घट्न पुगेको बताइन्छ। साथै, बढ्दो महँगी र ब्याजदरको दबाबले पनि सुनचाँदीको मूल्यमा असर परेको छ।
यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेर तोलामा ४ हजार ४२५ रुपैयाँमा झरेको छ, जुन अघिल्लो दिनभन्दा ११५ रुपैयाँ कम हो।








