समाचार सुन्नुहोस :
काठमाडौँ – सरकारले केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीलाई आपसमा जोडेर सेवा दिन सुरु गरेको छ। यसबाट नागरिकले एउटै विवरणका लागि फरक–फरक निकायमा बारम्बार फारम भर्नुपर्ने झन्झट हट्ने भएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षणका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नयाँ व्यवस्था लागू भएको जानकारी दिए। उनका अनुसार अब राष्ट्रिय परिचयपत्रका लागि छुट्टै आवेदन फारम भर्नु पर्ने बाध्यता हटाइएको छ। यसअघि सेवाग्राहीले विवरण भरेर बायोमेट्रिक दिनका लागि तोकिएका केन्द्रमा जानुपर्ने अवस्था थियो। अब प्रणालीहरू जोडिएपछि यस्तो प्रक्रिया सहज बनेको छ, जसले समय र खर्च दुवै बचत गर्ने मन्त्री अर्यालले बताए।
उनका अनुसार नागरिकमैत्री सेवा दिने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो, जसबाट सेवा लिन आउनेहरूलाई कम झन्झट हुने विश्वास गरिएको छ। हाल केही स्थानबाट यो सेवा सुरु भइसकेको छ र क्रमशः देशभर विस्तार गर्ने योजना सरकारको रहेको छ।यस पहलको मुख्य उद्देश्य नागरिकले सेवा लिन खर्च गर्नुपर्ने समय र आर्थिक भार घटाउनु रहेको सरकारको भनाइ छ।








