समाचार सुन्नुहोस :
काठमाडौँ – महाराजगन्ज नगरपालिका क्षेत्रमा बढ्दो तनावलाई ध्यानमा राख्दै प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तु ले शनिबार सूचना जारी गर्दै दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि भेला, सभा, जुलुस र प्रदर्शनमा रोक लगाएको जनाएको छ।
निषेधाज्ञा बर्गदी पुलदेखि बहादुरगन्ज चोक, महाराजगन्ज बजार हुँदै हर्दौना क्षेत्रसम्म लागू गरिएको छ। निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरे का अनुसार चर्को स्वरमा गरिएको भजन–कीर्तनका कारण विवाद सुरु भएको थियो। पछि यो विवाद दुई समुदायबीच तनावमा परिणत भएपछि स्थिति नियन्त्रणमा राख्न निषेधाज्ञा जारी गरिएको हो।
प्रशासनले स्थानीय बासिन्दालाई शान्त रहन र कानुनको पालना गर्न आग्रह गरेको छ।








