Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – घोषणापत्रका चिल्ला नारा र चुनावी सभाका सुमधुर भाषणले यसपटक मतदाताको मन पगाल्न सकेन । परिणामतः वर्षौंदेखि सत्ताको बागडोर सम्हाल्दै आएका शक्तिहरू चुनावी मैदानमा नराम्ररी पछारिएका छन् ।

तर, पराजयको यो घाउमा मलम लगाउनुको साटो ठूला दलका नेताहरू यतिबेला आफ्नै सहकर्मीको ‘खोइरो खन्न’ र सामाजिक सञ्जालमा वाकयुद्ध छेड्न व्यस्त छन् । ‘जनताले किन पत्याएनन् ?’ भन्ने गम्भीर प्रश्नको उत्तर खोज्नुभन्दा ‘कसले भोट हालेन ?’ भन्ने जासुसी खोजीमा केन्द्रित दलहरूको यो रवैयाले उनीहरूको स्खलित हुँदै गएको राजनीतिक नैतिकतालाई छर्लङ्ग पारेको छ ।

‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्दै मतदातामाझ पुगेको नेपाली कांग्रेसलाई यसपटक जनमतले नै बदलिदिएको छ । कांग्रेसले बाँडेको उज्यालो भविष्यको सपनालाई पत्याउन मतदाता तयार देखिएनन् । उता, ‘समृद्ध देश र सुखी जनता’ को नारा घन्काएको नेकपा एमालेको झोलीमा पनि अपेक्षित मत परेन । २०४६ सालको परिवर्तनपछि पटक-पटक सत्ताको बागडोर सम्हालेका ठूला दलहरूको खोक्रो नाराबाट जनता यसरी वाक्क भए कि, उनीहरूले यसपटक मतपेटिकामार्फत ती दलहरूलाई गम्भीर ‘सजाय’ दिएका छन् ।

सुशासनको अभाव, मौलाउँदो भ्रष्टाचार, र सत्ताका लागि गरिने ‘अपवित्र’ गठबन्धनप्रति मतदाताको आक्रोश यसपटक चुनावमा मुखरित भयो । जसका कारण दशकौंदेखि राजनीतिमा रजाइँ गरेका कतिपय स्थापित अनुहारहरू यसपटक पराजित भए । तर, निर्वाचनको नतिजा सार्वजनिक भएसँगै आफ्ना कमजोरी सुधार्नुको सट्टा पराजित उम्मेदवार र दलका नेताहरू हारको दोष ‘अन्तर्घात’ माथि थोपर्न व्यस्त देखिएका छन् ।

कांग्रेसभित्र रडाको 
प्रजातान्त्रिक मूल्य-मान्यताको दुहाई दिने नेपाली कांग्रेसभित्र यतिबेला हारको पीडा हिंसात्मक रूपमा प्रकट हुन थालेको छ । लुम्बिनी प्रदेशको बाँकेमा चुनावको समीक्षा गर्न बसेको बैठक कुटाकुटमा परिणत भयो । बाँके क्षेत्र नम्बर ३ मा आधिकारिक उम्मेदवार अमरसिंह पुनको पराजय भएपछि पार्टीले महासमिति सदस्य लक्ष्मीनारायण शाहलाई ‘अन्तर्घात’ को आरोपमा कारबाही गर्ने तयारी गरेको थियो ।

पार्टी कार्यालयमा बसिरहेको बैठकमा शाहको प्रवेशसँगै माहोल बिग्रियो । भनाभनबाट सुरु भएको विवाद हात हालाहालको स्थितिमा पुग्यो । जिल्ला सचिव सुधांशु कोइरालाले बीचबचाउ नगरेको भए बैठक स्थल नै रणमैदान बन्ने निश्चित थियो । लुम्बिनी प्रदेश सभापतिसमेत रहेका पुनमाथि जानकी गाउँपालिकाका राजु यादवले मुड्की उठाएपछि कांग्रेसभित्रको अनुशासन कुन हदसम्म गिरेको छ भन्ने प्रष्ट हुन्छ ।

अहिले शाह र यादवलाई ५ वर्षका लागि निष्कासन गर्न सिफारिस गरिएको छ । यस्तै दृश्य मधेश प्रदेशको सिरहामा पनि देखिएको छ, जहाँ जिल्ला सभापति रामचन्द्र यादवलाई हराउन भूमिका खेलेको भन्दै पाँच जनालाई कारबाहीको सिफारिस गरिएको छ ।

एमालेमा वाकयुद्ध
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र पनि चुनावी हारको दोषारोपणले उग्र रूप लिएको छ । बाँके-३ मै एमालेको नेतृत्वले अन्तिम समयमा उम्मेदवार फेर्दाको असर नतिजामा देखियो । पूर्वसांसद दलबहादुर सुनारको टिकट खोसेर सुमन मल्ललाई दिएपछि रुष्ट भएका नेता-कार्यकर्ताले पार्टीकै उम्मेदवारलाई सघाएनन् ।

पार्टीभित्रको यो अन्तद्वन्द्व अहिले सामाजिक सञ्जालसम्म आइपुगेको छ । महासचिव शंकर पोखरेल र उपमहासचिव योगेश भट्टराईबीच फेसबुकमार्फत चलेको कटाक्षले एमालेभित्रको आन्तरिक कलह छताछुल्ल पारेको छ । भट्टराईले निर्वाचनका बेला उचित जिम्मेवारी नपाएको गुनासो गर्दा पोखरेलले त्यसको प्रतिवाद गर्दै सार्वजनिक रूपमै आश्चर्य प्रकट गरेका छन् ।

यस्तै वाकयुद्धमा गोकुल बाँस्कोटा, शेरबहादुर तामाङ र सुरेन्द्र पाण्डे जस्ता शीर्ष नेताहरू पनि होमिएका छन् । आत्मसमीक्षा गर्नुको साटो एक-अर्कालाई होच्याउने प्रवृत्तिले एमालेको साख थप संकटमा पारेको राजनीतिक विश्लेषकहरूको ठहर छ ।

घण्टीमा भोट हाल्ने खोज्दै नेकपा
विभिन्न कम्युनिस्ट दलहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पनि यसपटक ठूलो धक्का व्यहोरेको छ । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत हारको तितो यथार्थ स्वीकार्न हम्मे-हम्मे परेको देखिन्छ । उनले आफ्नै केन्द्रीय सदस्यहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिन्ह ‘घण्टी’ मा मतदान गरेको दाबी गर्दै त्यस्ता ‘विद्रोही’ हरूको खोजी सुरु गरेका छन् ।

पेरिसडाँडामा आयोजित बैठकमा प्रचण्डले आफ्नै नेताहरूमाथि कारबाहीको डन्डा चलाउने चेतावनी दिएका छन् । विचारको संघर्षमा हारेको स्वीकार गरे पनि प्रचण्डको मुख्य ध्यान अहिले मतदाताको मन जित्नेतर्फ भन्दा पनि ‘अन्तर्घाती’ पत्ता लगाउनेतर्फ केन्द्रित छ ।

निर्वाचनको समीक्षा गरिरहँदा एउटा यथार्थ के हो भने, दलहरू र तिनका नेताहरू जनताको दुःख र पीडाबाट निकै टाढा पुगिसकेका छन् । बाँके क्षेत्र नम्बर १ का कांग्रेस सभापति पोषण केसीको टिप्पणी निकै घतलाग्दो छ । उनी भन्छन्, ‘बैठकका भाषणमा मात्र जनता थिए, व्यवहारका निर्णयमा उनीहरूको उपस्थिति हराउँदै गयो ।’

जनताले विकल्प खोजिरहेको बेला दलहरूले पुरानै अहंकार र गुटगत राजनीति प्रदर्शन गरिरहे । मौन मतदाताले कुनै पार्टीको झण्डा नबोकी परिवर्तनको पक्षमा मतदान गरिदिए । तर, हारका कारण खोज्न निस्किएका उम्मेदवारहरूले जनताको आक्रोश देख्न सकेका छैनन् । उनीहरू केवल कार्यकर्ताको ‘घात’ मात्र देखिरहेका छन् ।

जबसम्म दलहरूले हारको कारण अरूमा होइन, आफ्नै सोच र कार्यशैलीमा खोज्दैनन्, तबसम्म सुधारको सम्भावना रहँदैन । षड्यन्त्रको कथा बुनेर हारलाई ढाकछोप गर्ने प्रवृत्तिले पुराना दलहरूलाई अझै कमजोर बनाउने निश्चित छ । जनताले नारा होइन, कर्म खोजेका छन् । के अब पुराना दलहरूले आफूलाई साँच्चै बदल्लान् त ? यो प्रश्नको उत्तर भविष्यकै गर्भमा छ ।

तपाईको प्रतिक्रिया