टोकियो – जापानको राजधानी टोकियोस्थित शाही दरबारको सामान्यतया प्रतिबन्धित क्षेत्र शनिबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । विश्वप्रसिद्ध ‘साकुरा’ (चेरी ब्लोसम) को मनमोहक दृश्य नियाल्न बिहानैदेखि करिब ५०० व्यक्तिहरू दरबार परिसरमा लामबद्ध भएका थिए ।
शाही दरबार निकाय (इम्पेरियल हाउसहोल्ड एजेन्सी) का अनुसार, दरबारभित्रको करिब ७५० मिटर लामो ‘इनुई स्ट्रिट’ आगामी नौ दिनसम्म खुला रहनेछ । यस वर्ष आगामी बुधबारदेखि साकुराका फूलहरू पूर्ण रूपमा फक्रने अनुमान गरिएको छ । यो विशेष मार्ग वर्षमा दुई पटक मात्र सर्वसाधारणका लागि खुला गरिन्छ- वसन्त ऋतुमा साकुरा फुल्ने समयमा र शरद ऋतुमा रूखका पातहरू रङ्गिने (फलिज) मौसममा ।
दरबार अवलोकनका लागि कुनै पूर्व-दर्ताको आवश्यकता पर्ने छैन । इच्छुक आगन्तुकहरूले बिहान ९ बजेदेखि दिउँसो ३:३० बजेसम्म उक्त क्षेत्रको भ्रमण गर्न सक्ने व्यवस्था मिलाइएको छ । पूर्व सम्राट अकिहितोको ८०औँ जन्मोत्सवको स्मृतिमा सन् २०१४ देखि यो मार्ग सर्वसाधारणका लागि खुला गर्न थालिएको हो ।
जापानमा साकुरा फुल्ने सिजनलाई एउटा उत्सवका रूपमा लिइन्छ, जसमा लाखौँ स्वदेशी तथा विदेशी पर्यटकहरू सहभागी हुने गर्छन् ।








