Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

टोकियो – जापानमा रहेका नेपाली समुदायको संख्यासँगै चुनौतीहरू पनि थपिँदै गएका सन्दर्भमा विज्ञहरूले कानुनी सचेतना र इमानदारीलाई मुख्य सर्तका रूपमा अघि सारेका छन् ।

नेपाल पत्रकार महासंघ जापान शाखाको १५ औँ स्थापना दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय कानुनविद् डा. बलराम श्रेष्ठले जापानको नयाँ आप्रवासन प्रणाली र नेपाली समुदायको भविष्यबारे गम्भीर चर्चा गरेका हुन् । डा. श्रेष्ठले जापानमा नेपालीहरू कसरी सुरक्षित रहने र आफ्नो भविष्य सुनिश्चित गर्ने भन्ने विषयमा केन्द्रित रहँदै केही महत्वपूर्ण बुँदाहरूमा जोड दिएका छन् ।

१. कानुनी परिपालना र करको इमानदारी : डा. श्रेष्ठका अनुसार जापानमा सुरक्षित बस्नका लागि जापानी नागरिकसरह नै कर्तव्य र दायित्व पूरा गर्नु अनिवार्य छ । उनेले भने, ‘हामीलाई जापानको तलब र सुविधा मन पर्छ, तर यहाँको कर र नियमलाई बेवास्ता गर्दा समस्या सुरु हुन्छ ।’  विशेषगरी व्यापार-व्यवसाय गर्ने नेपालीहरूले समयमै कर नतिर्ने र स्वास्थ्य बिमा तथा पेन्सनमा हेलचेक्र्याइँ गर्ने प्रवृत्तिले गर्दा भिसा नवीकरणमा समस्या पर्ने र देश निकालासमेत हुन सक्ने उनले चेतावनी छ । 

२. भाषा र सीपमा दख्खल : जापानमा श्रमको माग उच्च भए पनि अबको प्रणालीले सीपयुक्त र दक्ष जनशक्तिलाई मात्र प्राथमिकता दिने देखिएको छ । डा. श्रेष्ठले नेपाली विद्यार्थी तथा कामदारहरूलाई कम्तीमा N3 वा N2 तहको जापानी भाषा सिक्न सुझाव दिए । ‘सरकारी चिठीपत्र र करका सूचनाहरू पढ्न नसक्दा धेरै नेपालीहरू अन्जानमै कानुनी फन्दामा परेका छन्,’ उनले भने । व्यावहारिक सीप र भाषाको ज्ञान भएमा मात्रै जापानमा प्रतिष्ठित रोजगारी र दीर्घकालीन बसोबास सम्भव हुने उनको तर्क छ ।

३. व्यावसायिक मर्यादा र परामर्श : जापानमा नेपाली व्यवसायीहरूको संख्या उल्लेख्य भए पनि चिनियाँ वा अन्य समुदायको तुलनामा संस्थागत मजबुती कम रहेको औँल्याउँदै डा. श्रेष्ठले व्यवसाय गर्दा दक्ष लेखापरीक्षक र वकिलको परामर्श लिनु जरुरी रहेको बताए । ‘जापानमा पैसा कमाउनु मात्र ठूलो कुरा होइन, कमाएको पैसालाई कानुनी रूपमा व्यवस्थित गर्नु र स्थानीय नियमको पालना गर्नु सुरक्षित भविष्यको आधार हो,’ उनले प्रष्ट पारे ।

४. बदलिँदो राजनीतिक र कानुनी परिवेश : जापानमा आप्रवासी विरोधी राजनीतिक सोचको पनि उदय भइरहेको सन्दर्भमा जापानी सरकारले अब ‘छनोटपूर्ण आप्रवासन’ नीति लिने देखिएको छ । डा. श्रेष्ठले आगामी वर्षहरूमा जापानले दक्ष कामदार (SSW) र ठूला लगानीकर्ताहरूलाई बढी प्राथमिकता दिने हुँदा नेपालीहरूले पनि सोही अनुसार आफूलाई तयार पार्नुपर्ने बताएका छन् । 

५. राज्य र समुदायको भूमिका : कार्यक्रममा उपस्थित कार्यवाहक राजदूत र अन्य सरोकारवालाहरूलाई सम्बोधन गर्दै डा. श्रेष्ठले नेपालबाट जापान आउने जनशक्तिलाई सीपयुक्त बनाएर पठाउन सके मात्रै नेपाली समुदायको भविष्य उज्ज्वल हुने धारणा राखेका छन् । जापानमा करिब ४१ लाख विदेशीहरू कार्यरत रहेको अवस्थामा नेपालीहरूले आफ्नो छुट्टै र मर्यादित पहिचान बनाउन ‘नियम पालना’ लाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको निष्कर्ष थियो ।

जापानको जनसंख्या घट्दै जाँदा श्रम बजारमा नेपालीका लागि अवसर त छ, तर त्यो अवसरलाई सुरक्षित बनाउनका लागि प्रत्येक नेपालीले जापानी कानुन र सामाजिक अनुशासनलाई अक्षरशः पालना गर्नु नै सुरक्षित बस्ने एकमात्र उपाय रहेको डा. श्रेष्ठको भनाई छ ।

हेर्नुस् पूरा भिडियो :- 

  • डा. श्रेष्ठले पत्रकार महासंघ जापान शाखाको १५ औँ स्थापना दिवसका अवसरमा राखेको प्रस्तुतिमा आधारित

तपाईको प्रतिक्रिया