टोकियो – विश्वप्रसिद्ध माउन्ट फुजीको मनोरम दृश्यावलोकन गराउने उद्देश्यका साथ जापानमा विदेशी पर्यटकहरूलाई मात्र लक्षित गरी विशेष रेल सेवा सुरु गरिएको छ । मध्य जापानको सिजुओका प्रान्तमा बिहीबारदेखि सञ्चालनमा आएको यो रेल सेवाले पर्यटकहरूलाई जापानको सर्वोच्च शिखरको नजिकबाट अनुभव गराउनेछ ।
सेन्ट्रल जापान रेलवे र जेटीबी ग्लोबल मार्केटिङ एन्ड ट्राभलको संयुक्त आयोजनामा सुरु गरिएको यो ‘टुर’ प्याकेजले सिजुओकाको मिसिमा र फुजिनोमिया स्टेशनलाई जोड्नेछ । जेआर सेन्ट्रलले विदेशी पर्यटकका लागि मात्र लक्षित गरी यस्तो विशेष रेल चलाएको यो पहिलो पटक हो ।
सन् २०१३ मा युनेस्कोको विश्व सांस्कृतिक सम्पदा सूचीमा सूचीकृत माउन्ट फुजीलाई पर्यटकहरूले स्पष्ट र नजिकबाट देख्न सकून् भन्नका लागि रेललाई कतिपय सुन्दर खण्डहरूमा निकै सुस्त गतिमा गुडाइनेछ । साथै, फोटो खिच्नका लागि केही विशेष स्टेशनहरूमा रेललाई लामो समय रोकिने व्यवस्था समेत मिलाइएको छ ।
रेलको भित्री भाग प्रख्यात जापानी कलाकार कात्सुसिका होकुसाईको प्रसिद्ध चित्रकला ‘माउन्ट फुजीका ३६ दृश्यहरू’बाट सुसज्जित गरिएको छ। विदेशी पर्यटकको सहजताका लागि रेलमा अङ्ग्रेजी भाषा बोल्ने गाइडहरू उपलब्ध हुनेछन्, जसले माउन्ट फुजी र स्थानीय क्षेत्रबारे जानकारी दिनेछन् ।
रेल यात्राका अतिरिक्त यो प्याकेजमा बसमार्फत फुजी पर्वतको फेदीमा रहेको ऐतिहासिक मन्दिर, प्रख्यात वासाबी खेती र प्राकृतिक छहराहरूको भ्रमण समेत समावेश गरिएको छ । उद्घाटन समारोहमा जेआर सेन्ट्रलका अध्यक्ष शुनसुके निवाले भने, ‘हाम्रो लक्ष्य पर्यटकहरूलाई सिजुओकाको भ्रमण अविस्मरणीय बनोस् भन्ने हो । यसका लागि हामीले उत्कृष्ट सेवा दिने प्रयास गरेका छौँ ।’
करिब २० जना पर्यटक बोकेर मिसिमा स्टेशनबाट छुटेको यो विशेष रेल आगामी डिसेम्बर २२ सम्म प्रत्येक हप्ताको मंगलबार, बिहीबार र शनिबार सञ्चालन हुने कम्पनीले जनाएको छ ।








