टोकियो – जापानको सिमोनोसेकी शहरमा एउटै नाम भएको अर्को व्यक्तिको खाताबाट विगत १६ वर्षदेखि लगातार कर असुली भइरहेको उदेकलाग्दो घटना सार्वजनिक भएको छ । सन् २००९ देखि भइरहेको यो गम्भीर त्रुटि ती व्यक्तिको मृत्युपछि मात्र खुलासा भएको हो ।
नगर प्रशासनका अनुसार, सन् २००९ मा एक स्थानीयले कर तिर्ने बैंक खाता परिवर्तनका लागि निवेदन दिएका थिए । सो निवेदनमा ‘नोटिफिकेसन नम्बर’ खाली भएपछि सरकारी कर्मचारीले डाटाबेसमा नाम सर्च गरी विवरण भरेका थिए । तर, ठेगाना रुजु नगरी नाम मात्र मिलेको आधारमा अर्कै व्यक्तिको खाता प्रणालीमा प्रविष्ट गर्दा यो समस्या आएको हो ।
यो १६ वर्षको अवधिमा प्रशासनले ती व्यक्तिको खाताबाट झन्डै ११ लाख ५३ हजार येन (करिब १० हजार डलर) करबापत काटेको थियो । गत डिसेम्बरमा पीडितको मृत्यु भएपछि उनको परिवारले बैंक विवरण जाँच गर्दा मात्र यो रहस्य खुलेको हो ।
नगरपालिकाले आफ्नो गल्ती स्वीकार गर्दै मृतकका परिवारलाई ब्याजसहित करिब १६ लाख येन फिर्ता गर्ने घोषणा गरेको छ । यता, वास्तवमै कर तिर्नुपर्ने व्यक्तिबाट भने नियमअनुसार पछिल्लो ५ वर्षको मात्र (करिब ३ लाख येन) असुल गरिनेछ, जसका कारण शहरलाई करिब ८ लाख येन घाटा हुनेछ ।
एक प्रेस सम्मेलनमा नगरका अर्थ निर्देशक काजुकी माएडा र कर महाशाखा प्रमुख कियोहिरो ओकाडाले सार्वजनिक रूपमा माफी मागेका छन् । ‘ती व्यक्तिको मृत्यु भइसकेकाले हामीले सिधै माफी माग्ने अवसर समेत पाएनौं,’ अधिकारीहरूले दुःख व्यक्त गर्दै भने, ‘हामी पीडित परिवारलाई यथाशीघ्र रकम फिर्ता गर्नेछौं ।’








