टोकियो – गैरआवासीय नेपाली संघ (एनआरएनए) को हालै सम्पन्न १२औँ महाधिवेशनबाट घोषित ‘जम्बो’ कार्यसमितिमा जापानको बलियो उपस्थिति देखिएको छ । ‘एकताको महाधिवेशन’ भनिएको यस पटकको कार्यसमितिमा जापानबाट वरिष्ठ उपाध्यक्षसहित ११ जना प्रभावशाली अभियन्ताहरूले महत्त्वपूर्ण जिम्मेवारी पाएका छन् । संघको अध्यक्षमा डा. हेमराज शर्मा (यूके) सर्वसम्मत निर्वाचित भएसँगै कार्यसमितिलाई समावेशी र सर्वस्वीकार्य बनाउन जापानका स्थापित व्यवसायी र समाजसेवीहरूलाई मुख्य भूमिका दिइएको हो ।
रोविन शेरचन: एकताका लागि त्याग र भावी नेतृत्वको सुनिश्चितता
संस्थाभित्रको विभाजन अन्त्य गरी एकता कायम गर्न अध्यक्ष पदका बलिया दाबेदार रोविन प्रसाद शेरचनले ठूलो त्याग देखाएका छन् । संस्थाको बृहत्तर हितका लागि आफ्नो दाबेदारी फिर्ता लिँदै उनी वरिष्ठ उपाध्यक्षमा निर्विरोध चयन भएका हुन् । आगामी १३औँ महाधिवेशनमा संघको नेतृत्व लिने आपसी सहमति र विधानमा आवश्यक व्यवस्था भएपछि शेरचन वरिष्ठ उपाध्यक्ष बन्न राजी भएका हुन् ।
३५ वर्षदेखि जापानलाई कर्मभूमि बनाएका सफल व्यवसायी शेरचनले गैरआवासीय नेपालीहरूको नागरिकता, मताधिकार, र भूतपूर्व गोर्खाहरूको अधिकारलाई आफ्नो मुख्य कार्यसूची बनाएका छन् । उनले अघि सारेको २५ अर्ब रुपैयाँको ‘एनआरएनए डेभलपमेन्ट फन्ड’ र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई आईपीओमार्फत जोड्ने योजनालाई अब नवनिर्वाचित कार्यसमितिले प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ ।
ददिवल खड्का: अनुभव र शुद्धीकरणको संवाहक
साढे तीन दशकदेखि जापानमा रहेर निस्वार्थ समाजसेवामा पहिचान बनाएका ददिवल खड्का संघको उपाध्यक्षमा निर्वाचित भएका छन् । ‘सबल एनआरएनए, साझा नेतृत्व’ को नारासहित मैदानमा उत्रिएका खड्काले संस्थाभित्रको आन्तरिक कलह अन्त्य र शुद्धीकरणलाई आफ्नो मुख्य लक्ष्य बनाएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) को पूर्वअध्यक्षसमेत रहेका खड्कासँग विश्वभरका नेपालीको समस्या नजिकबाट बुझेको अनुभव छ । दोस्रो पुस्ताका नेपालीलाई मातृभूमिसँग जोड्ने र डायस्पोराको लगानी नेपाल भित्र्याउने योजना उनको प्राथमिकतामा रहेको छ ।
टंकप्रसाद गैरे: साझा संस्था निर्माणमा प्रतिबद्ध
जापानमा दुई दशकभन्दा लामो समयदेखि सक्रिय समाजसेवी टंकप्रसाद गैरे पनि संघको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । सन् २०११ देखि एनआरएनए अभियानमा जोडिएका बागलुङका गैरेले संस्थालाई नारामा मात्र नभई व्यवहारमै सबैको साझा घर बनाउने संकल्प गरेका छन् । संस्थाको आर्थिक सबलीकरण र प्रवासमा रहेका नेपालीलाई पर्ने विपद्मा तत्काल राहत पुर्याउने संयन्त्र निर्माणमा उनको विशेष जोड रहनेछ ।
नवीन निउरे: युवा ऊर्जा र प्रविधिको फ्युजन
एनआरएनए जापानको इतिहासमै सर्वाधिक सफल कार्यकाल बिताएका जुझारु युवा नेता नवीन निउरे आईसीसीको युवा संयोजकमा निर्विरोध निर्वाचित भएका छन् । निउरेले अघि सारेको ‘३ एस’ (Support, Sports, Sanskar) को अवधारणाले विश्वभरका युवा प्रतिनिधिहरूको ध्यान खिचेको छ । विदेशिने विद्यार्थीका लागि ‘हेल्प डेस्क’, एनआरएनए स्पोर्ट्स एकेडेमीको स्थापना र दोस्रो पुस्तालाई नेपाली संस्कार बुझाउन सांस्कृतिक महोत्सव आयोजना गर्ने उनका मुख्य कार्ययोजना छन् । उनले एनआरएनएलाई व्यक्ति केन्द्रित नभई पद्धति केन्द्रित बनाउने अठोट व्यक्त गरेका छन् ।
संगीता अधिकारी सुवेदी: महिला सशक्तीकरणको आवाज
जापानमा सफल व्यवसायी र समाजसेवीका रूपमा परिचित संगीता अधिकारी सुवेदी एसिया-प्रशान्त क्षेत्रको महिला संयोजकमा निर्वाचित भएकी छन् । लामो समयदेखि जापानलाई कर्मथलो बनाएर व्यवसायमा सफल परिचय बनाएकी सुवेदी केवल उद्यमी मात्र होइनन्, उनी प्रवासमा रहेका नेपालीहरूका लागि एक कुशल अभिभावक र सहयोगी मनकी धनी पनि हुन् ।
एनआरएनए जापानको उपाध्यक्षका रूपमा उनको कार्यकाललाई उत्कृष्ट कार्यकालका रूपमा हेरिन्छ । आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक निभाएकै कारण उनले आफूलाई एक सफल र सक्षम नेतृत्वका रूपमा प्रमाणित गरिसकेकी छन् । ‘मैले कहिल्यै पनि पदका लागि मात्र काम गरिनँ, संस्थाको गरिमा र प्रवासमा रहेका नेपालीको हित नै मेरो पहिलो प्राथमिकता रह्यो,’ उनी भन्छिन् । उनको यही कार्यशैलीले उनलाई एसिया-प्रशान्त क्षेत्रका महिला अभियन्ताहरू माझ निर्विकल्प र प्रभावशाली उम्मेदवार बनाएको हो ।
यो पनि : एनआरएनएको नयाँ कार्यसमिति घोषणा, कहाँबाट को को परे ? (नामावलीसहित)
जापानमा कसैलाई समस्या पर्दा वा विपद् आइलाग्दा सबैभन्दा अगाडि उभिने व्यक्तित्वका रूपमा संगीता परिचित छिन् । ‘समाजमा भिजेको र सबैको समस्या बुझ्ने भएकाले नै मलाई साथीहरूले यो जिम्मेवारी सुम्पिनुभएको हो,’ उनी भन्छिन् । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्थाको हितमा अहोरात्र खटिनु नै उनको मुख्य विशेषता हो ।
अबको कार्यकालमा उनको मुख्य लक्ष्य एसिया-प्रशान्त क्षेत्रका विभिन्न देशमा रहेका नेपाली महिलाहरूलाई एउटै सूत्रमा बाँध्नु र उनीहरूको हक-अधिकारका लागि बलियो आवाज उठाउनु रहेको छ । प्रवासमा रहेका नेपाली दिदीबहिनीहरूले भोग्नुपरेका कानुनी, प्रशासनिक र सामाजिक समस्याहरूलाई राज्यस्तरबाटै सम्बोधन गराउन उनले विशेष पहल गर्ने बताएकी छन् ।
जापानबाट अन्य प्रतिनिधित्व
यी पाँच प्रमुख पदका अतिरिक्त जापानबाट उपाध्यक्षमा दिनेश पोखरेल, उपमहासचिवमा पारसमणि पोखरेल, सचिवमा शिवप्रसाद पौडेल र सुपेन्द्र घिसिङ, एसिया–प्रशान्त संयोजकमा दीपक प्रसाद कँडेल, उपसंयोजकमा छत्र बहादुर दाहाल र युवा उपसंयोजकमा राम थापाले पनि जिम्मेवारी पाएका छन् ।
यस पटकको जम्बो कार्यसमितिमा जापानको यति ठूलो र प्रभावशाली प्रतिनिधित्वले आगामी दिनमा एनआरएनएको अभियानलाई अझ उचाइमा पुर्याउने विश्वास लिइएको छ ।








