समाचार सुन्नुहोस :
काठमाडौँ – मधेस प्रदेश सरकारले विपन्न र निरक्षर नागरिकलाई लक्षित गर्दै सवारी चालकका लागि सहुलियतपूर्ण नीति ल्याएको छ। ई–रिक्सा, अटो र ट्याक्टर चलाएर जीविकोपार्जन गर्नेहरूले अब लिखित परीक्षा बिना नै सिधै ट्रायल दिएर लाइसेन्स लिन सक्ने व्यवस्था गरिएको मुख्यमन्त्री कृष्ण यादवले जानकारी दिएका छन्।
सरकारका अनुसार यो कदम मजदुर वर्गको रोजगारी जोगाउन र उनीहरूको सीपलाई मान्यता दिन ल्याइएको हो। निरक्षर भएकै कारण धेरै चालकले लाइसेन्स नपाएर कानुनी समस्या भोग्दै आएका थिए।
स्वास्थ्य क्षेत्रमा पनि सुधारको योजना अघि सारिएको छ। अब बिरामीलाई नगद दिनुको सट्टा उपचार गरेको अस्पताललाई सिधै रकम भुक्तानी गरिनेछ, जसले समयमा उपचार पाउने अवस्था सुनिश्चित गर्ने अपेक्षा गरिएको छ। साथै, मोबाइलबाटै टिकट काट्ने व्यवस्था र रोकिएको औषधि खरिद प्रक्रिया पुनः सुरु गरिएको छ।
यससँगै, खेलकुद र धार्मिक पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकासमा पनि सरकारले जोड दिने बताएको छ।








