समाचार सुन्नुहोस :
काठमाडौँ – गोरखा–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरूङले आफूले सांसदको तलब नलिने बताएका छन्। रास्वपाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा पत्रकारसँगको कुराकानीमा उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।
गुरूङले आफू आर्थिक रूपमा सक्षम भएकाले राज्यबाट तलब लिन आवश्यक नरहेको बताए। उनले नेताहरूले सेवा भावले काम गर्नुपर्ने धारणा राख्दै तलब नलिने निर्णय व्यक्त गरेका हुन्। जेन–जी आन्दोलनपछि ‘हामी नेपाल’ अभियानमार्फत राष्ट्रिय राजनीतिमा आएका गुरूङ यसअघि पनि नेताहरूलाई तलब दिन नहुने पक्षमा देखिँदै आएका थिए।
सांसदलाई दिइने सुविधा सम्बन्धी अर्को प्रश्नमा उनले सरकारी सवारी प्रयोग नगरी आफ्नै गाडी चलाउने बताएका छन्। संघीय संसद सचिवालयले सांसदलाई मासिक तलब उपलब्ध गराउने व्यवस्था भए पनि सवारी सुविधा भने प्रदान गरेको छैन।








