टोकियो – जापानको राजधानी टोकियोस्थित व्यस्त ‘हान्जोमोन’ सबवे लाइनको एउटा गुडिरहेको रेलभित्र मोबाइल ब्याट्री (पावर बैंक) बाट आगलागी हुँदा रेल सेवा केही समयका लागि अवरुद्ध भएको छ ।
गत आइतबार बिहान करिब ९:३० बजे दक्षिणतर्फ गइरहेको १० डिब्बाको रेलमा एक यात्रुको मोबाइल ब्याट्रीबाट अचानक आगोको ज्वाला निस्किएको थियो । रेल ‘नागाताचो’ स्टेशनमा पुग्नेबित्तिकै मेट्रो कर्मचारीहरूले तत्काल आगो निभाएका थिए । आगलागीपछि सुरक्षा जाँचका लागि उक्त रुटमा चल्ने रेल सेवा करिब ४० मिनेट ठप्प भएको थियो ।
मेट्रो अधिकारीहरूका अनुसार यस घटनामा कोही पनि घाइते भएका छैनन् । यद्यपि, अत्यन्तै व्यस्त रहने भूमिगत स्टेशन र सीमित निकास मार्ग हुने सबवेमा यस्ता आगलागीका घटनाले ठूलो जोखिम निम्त्याउन सक्ने भन्दै सुरक्षा चिन्ता व्यक्त गरिएको छ ।
पछिल्लो समय जापानका होटल, विमान र अन्य रेल लाइनहरूमा पनि मोबाइल ब्याट्रीका कारण आगलागीका घटनाहरू बढ्दै गएका छन् । यसअघि व्यस्त यामानोते लाइन र विमानभित्र पनि यस्तै प्रकृतिका घटनाहरू सार्वजनिक भएका थिए ।
विद्युतीय उपकरणहरूको बढ्दो प्रयोगसँगै सार्वजनिक यातायातमा मोबाइल ब्याट्री बोक्ने सम्बन्धी सुरक्षा नीति र निर्देशिकाहरूलाई पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएको विज्ञहरूले बताएका छन् । जापानी विमान सेवाहरूले यसअघि नै ब्याट्री सम्बन्धी नियममा कडाइ गरिसकेका छन् भने अब रेल तथा मेट्रो सञ्चालकहरूले पनि नयाँ सुरक्षा मापदण्ड अपनाउन सक्ने देखिएको छ ।








