समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाही संसदीय दलको नेता बन्ने निश्चितजस्तै भएको छ। प्रत्यक्षतर्फ चुनाव जित्ने उनी पार्टीका एकमात्र सांसद हुन्, जसका कारण उनको नेतृत्व निर्विवाद बनेको छ। औपचारिक निर्णय भने पार्टी बैठकले गर्नेछ।
यसपटकको निर्वाचनमा राप्रपाको उपस्थिती घट्दै १४ सिटबाट ५ मा सीमित भएको छ। अघिल्लो संसदमा पाँचौं स्थानमा रहेको पार्टी अहिले छैटौं स्थानमा झरेको छ। तर शाहीको जितले पार्टीको राष्ट्रिय हैसियत जोगिएको छ, किनकि प्रत्यक्षमा कम्तिमा एक सिट आवश्यक हुन्छ।
जुम्लाबाट लगातार दोस्रोपटक विजयी भएका शाहीले अघिल्लो संसदमा पनि प्रभावशाली भूमिका निर्वाह गरेका थिए। समानुपातिकतर्फ भने खुस्बु ओली, सरस्वती लामा, भरत गिरी र ताहिर अली नयाँ अनुहारका रूपमा संसद प्रवेश गरेका छन्। पार्टीले आकार घटे पनि संसदमा आफ्नो धारिलो प्रस्तुति कायम राख्ने दाबी गरेको छ।








