समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग सम्बन्धित सहकारी ठगी प्रकरणमा दायर गरिएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध परेको रिटमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। सोमबार न्यायाधीश सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा बहस सुरु भएको थियो। तर समय अभावका कारण बहस पूरा हुन नसकेपछि आजका लागि सुनुवाइ जारी राखिएको हो।
यसअघि आइतबार पनि प्रारम्भिक सुनुवाइ गरिएको थियो। त्यतिबेला पनि बहस नसकिँदा मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखेर सोमबारका लागि सारिएको थियो। अघिल्लो इजलासले उक्त रिटलाई नियमित सुनुवाइमा लैजान आदेश दिएपछि अहिले विस्तृत बहस भइरहेको छ।
सरकारले लामिछानेमाथि दायर भएका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन प्रक्रिया अघि बढाएपछि त्यसविरुद्ध विभिन्न कानुन व्यवसायीले सर्वोच्च अदालतमा रिट दिएका थिए। अदालतबाट अन्तिम फैसला नभएसम्म जिल्ला अदालतमा विचाराधीन मुद्दामा नयाँ प्रक्रिया अघि नबढ्ने जनाइएको छ। तर सहकारी ठगीसम्बन्धी मुद्दा भने अलग रूपमा कायमै रहनेछ।








