टोकियो – जापानको ओकिनावा टापुमा अमेरिकी सैन्य आधार शिविर (बेस) स्थानान्तरणको विरोध प्रदर्शनमा सहभागी दुईवटा डुंगा पल्टिँदा एक छात्रा र एक क्याप्टेनको मृत्यु भएको छ । क्योटोस्थित डोसिशा इन्टरनेसनल हाई स्कूलका १८ विद्यार्थीसहित २१ जना सवार ती डुंगाहरू सोमबार हेनोको तटीय क्षेत्रमा दुर्घटनामा परेका हुन् ।
मृतकको पहिचान १७ वर्षीया छात्रा तोमोका ताकेइची र ७१ वर्षीय डुंगा चालक (क्याप्टेन) हाजिमे कानाईका रूपमा गरिएको क्षेत्रीय कोस्ट गार्डले जनाएको छ । विद्यालयको ‘शान्ति शिक्षा’ पाठ्यक्रम अन्तर्गत विद्यार्थीहरू ओकिनावा भ्रमणमा रहेका थिए । सोही क्रममा उनीहरू विवादास्पद अमेरिकी सैन्य अखडा निर्माणको विरोधमा प्रयोग हुँदै आएका डुंगामा सवार भई समुद्रमा निस्किएका थिए ।
कोस्ट गार्डका अनुसार मौसम सफा भए पनि समुद्रमा ठूला छाल आउने चेतावनी (हाई सर्फ एड्भाइजरी) जारी गरिएको थियो । सोही क्रममा आएको एउटा विशाल छालले दुवै डुंगा पल्टाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । दुर्घटनामा परेका सबै २१ जनालाई पानीबाट निकालिएको थियो, जसमध्ये दुई जना घाइते भएका छन् ।
ओकिनावाका गभर्नर डेनी तामाकीले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यसलाई ‘हृदयविदारक दुर्घटना’ भनेका छन् । ओकिनावाको बाक्लो बस्तीमा रहेको अमेरिकी म्यारिन कोर्प्स एयर स्टेसन फ्युतेन्मालाई तुलनात्मक रूपमा कम जनघनत्व भएको हेनोको क्षेत्रमा सार्न लागिएको छ । तर, ओकिनावाका स्थानीय बासिन्दाहरूले भने अमेरिकी सैन्य अखडालाई टापुबाट पूर्ण रूपमा हटाउनुपर्ने माग गर्दै लामो समयदेखि विरोध प्रदर्शन गर्दै आएका छन् ।








