टोकियो – जापानको राजधानी टोकियोको उत्तरमा अवस्थित साइतामा प्रान्तको साकादो सहरमा ‘अर्ली’ प्रजातिका चेरी ब्लसम (साकुरा) हेर्न आउने आगन्तुकहरूको लर्को लागेको छ । यहाँको एक नदी किनारमा रहेको पार्कमा चाँडै फुल्ने चेरीका फूलहरू ढकमक्क फुलेपछि महोत्सवको आयोजना गरिएको छ ।
विशेष गरी गाढा गुलाबी रङका पत्रदल हुने ‘अङ्ग्यो कान्जाकुरा’ प्रजातिका यी चेरीका फूलहरूले यतिबेला पार्कलाई निकै आकर्षक बनाएका छन् । नदीको किनारै किनार करिब २०० वटा यस प्रजातिका चेरीका रुखहरू रोपिएका छन् । मार्चको सुरुवातमै कोपिला लागेका यी फूलहरू अहिले पूर्ण रूपमा फुलेका छन् ।
पार्कमा आयोजित महोत्सवमा पुगेका मानिसहरू फूलको सुन्दरतामा रमाउँदै तस्बिर खिच्न व्यस्त देखिन्थे । आफ्ना बालबालिकासहित महोत्सव अवलोकन गर्न पुगेका ४० वर्षीय एक स्थानीयले वसन्त ऋतुको यो आभासले आफूलाई उत्साहित बनाएको बताए । ‘मेरो बच्चा छिट्टै प्राथमिक विद्यालय प्रवेश गर्दैछ, त्यसैले यो वसन्त र यी फूलहरू मेरा लागि अझ विशेष बनेका छन्,’ उनले खुसी व्यक्त गरे ।
त्यस्तै, पहिलो पटक महोत्सवमा सहभागी हुन पुगेका अर्का २० वर्षीय युवाले पनि चाँडै फुलेका यी चेरीका फूलहरू अत्यन्तै मनमोहक रहेको बताए । साकादो सहरको नदी किनारमा रहेका यी गुलाबी फूलहरू आगामी मार्च २२ सम्म रहिरहने अनुमान गरिएको छ । जापानमा सामान्यतया मार्चको अन्त्यतिर चेरी फुल्ने भए पनि यो विशेष प्रजाति अलि चाँडै फुल्ने गर्दछ ।








