समाचार सुन्नुहोस :
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलेले जुनसुकै अवस्थामा पनि होर्मुजको जलडमरू खुला गरिने बताएका छन्। उनले विभिन्न देशलाई आफ्ना युद्धपोत पठाएर समुद्री मार्ग सुरक्षित बनाउन आग्रह गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसियल मा लेख्दै इरानको सैन्य शक्ति धेरै हदसम्म नष्ट गरिएको दाबी गरेका छन्। तर पनि इरानले ड्रोन पठाउने, समुद्रमा बारुदी सुरुङ राख्ने वा नजिकबाट क्षेप्यास्त्र प्रहार गर्ने सम्भावना भने अझै रहेको उनले बताएका छन्। उनले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया, बेलायतलगायत अन्य देशलाई पनि जहाज पठाएर होर्मुज जलडमरू सुरक्षित बनाउन सहयोग गर्न अपिल गरेका छन्।
होर्मुज जलडमरू विश्वकै महत्वपूर्ण समुद्री मार्गमध्ये एक हो। यहाँबाट विश्वको करिब २० प्रतिशत समुद्री तेल व्यापार सञ्चालन हुन्छ। पछिल्ला समय यस क्षेत्रबाट गुज्रने जहाजमाथि आक्रमणका घटना बढ्दै जाँदा अन्तर्राष्ट्रिय चिन्ता बढेको छ। यसैबीच भारत सरकारले एलपीजी बोकेका शिवालिक र नन्द देवी नामका दुई जहाज सुरक्षित रूपमा होर्मुज जलडमरू पार गरेको जनाएको छ।








