Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश श्रेष्ठले नेपालको सिमानाभित्र मात्रै नेपाल छ भन्ने परम्परागत र सङ्कुचित सोचलाई बदल्नुपर्नेमा जोड दिएका छन् । शनिबार काठमाडौँमा सुरु भएको एनआरएनएको १२औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले मुलुकको समग्र विकासका लागि विदेशमा रहेका नेपालीहरूको पुँजी र सीपलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।

अहिले कुल जनसङ्ख्याको झन्डै एक तिहाइ नेपाली मुलुकबाहिर रहेको तथ्य प्रस्तुत गर्दै उनले भने, ‘हामीले बुझ्नुपर्छ कि नेपालको सिमानाभन्दा बाहिर पनि ‘अर्को नेपाल’ छ । राज्यले नीति, नियम र बजेट तर्जुमा गर्दा विश्वभर छरिएर रहेको यो ठुलो हिस्सालाई सम्बोधन गर्न जरुरी छ ।’ नेपालभित्रको नेपाल र नेपालबाहिरको नेपाललाई जोड्ने बलियो ‘सेतु’ का रूपमा एनआरएनएले काम गरिरहेको उनको भनाइ थियो ।

आर्थिक तथ्याङ्क प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले विदेशमा रहेका करिब ८० लाख नेपालीको वार्षिक आम्दानी विदेशी मुद्रामा २० खर्ब रुपैयाँभन्दा बढी रहेको जानकारी दिए । एकातिर मुलुकले स्रोत र लगानीको अभाव झेलिरहेको र अर्कोतिर प्रवासमा रहेका नेपालीसँग अथाह सम्भावना रहेको भन्दै उनले यसको सही सदुपयोग गर्न सरकारसँग आग्रह गरे ।

वर्तमान लगानीको वातावरणबारे चर्चा गर्दै उनले सन् ७० को दशकको चीनको उदाहरण पेस गरे । ‘चीनले पनि सुरुमा विदेशमा रहेका चिनियाँहरूलाई सहुलियत दिएर उनीहरूमार्फत पुँजी, प्रविधि र काम गर्ने संस्कृति भित्र्यायो, त्यसपछि मात्र सन् ९० को दशकपछि संसारका अन्य लगानीकर्ता त्यहाँ आकर्षित भए,’ श्रेष्ठले थपे, ‘अहिले विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्न जोखिम देख्न सक्छन्, तर गैरआवासीय नेपालीका लागि यो जोखिम होइन, किनकि यो हाम्रै मातृभूमि हो ।’

उनले नीति निर्माताहरूलाई ‘सामान्य वैदेशिक लगानी’ र ‘गैरआवासीय नेपालीको लगानी’ लाई एउटै नजरले नहेर्न सुझाव दिए । एनआरएन लगानीका लागि छुट्टै र लचिलो नीति बनाउन आग्रह गर्दै उनले अहिलेको अवस्थामा नेपालको विकासको मुख्य इन्जिन नै गैरआवासीय नेपालीको लगानी हुन सक्ने दाबी गरे । काठमाडौँमा सुरु भएको यो महाधिवेशन आगामी चैत २ गतेसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया