समाचार सुन्नुहोस :
काठमाडौँ – मनकामना मन्दिरको दर्शन गरेर फर्किएको माइक्रोबस दुर्घटनामा पर्दा सात जना भारतीय नागरिकको मृत्यु भएको खबर प्राप्त भएको छ। शनिबार साँझ बागमती प्रदेश–००६ ख ८४३० नम्बरको माइक्रोबस गोरखाको शहीद लखन गाउँपालिका–३ अन्तर्गत मनकामना–मजुवा सडकको कन्टारमा दुर्घटनामा परेको हो। उक्त माइक्रोबस मनकामना मन्दिरबाट आँबुखैरेनीतर्फ फर्किने क्रममा दुर्घटना भएको बताइएको छ।
साँझ करिब ७ बजे भएको दुर्घटनामा सात जनाको ज्यान गएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। साथै, दुर्घटनामा परेर अन्य सात जना गम्भीर घाइते भएका छन्। दुर्घटनास्थल राजमार्गभन्दा करिब डेढ मिटर माथि रहेको बताइएको छ। घटनापछि घाइतेहरूको उद्धार गरी अस्पताल पठाउने काम नेपाल प्रहरीले गरिरहेको छ।
यसैबीच, राति करिब ९ः१५ बजे गोरखाबाट नेपाली सेनाको टोली पनि घटनास्थल पुगेको छ र उद्धार कार्यमा सहभागी भएको छ। दुर्घटनास्थल दुर्गम भएकाले एक शव निकाल्न कठिनाइ भइरहेको जानकारी प्राप्त भएको छ।








