समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने केही दिनदेखि अस्वस्थ भएपछि घरमै आराम गरिरहेका छन्। लगातार चुनावी व्यस्तताका कारण उनको स्वास्थ्यमा समस्या देखिएको बताइएको छ। पछिल्ला केही दिनदेखि उनलाई ज्वरो आइरहेको छ। स्वास्थ्य परीक्षणका क्रममा पिसाबमा संक्रमण देखिएपछि चिकित्सकको सल्लाहअनुसार उनले नियमित औषधि सेवन गरिरहेका छन्। ज्वरो पूर्ण रूपमा नघटेकाले चिकित्सकले अझै एक–दुई दिन पूर्ण आराम गर्न सुझाव दिएका छन्।
यसैबीच, रास्वपाका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रूपमा चर्चा भइरहेका बालेन्द्र साह (बालेन) बिहीबार लामिछानेको निवासमै पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। चुनावी नतिजा सार्वजनिक भएपछि दुवै नेताबीच भएको यो पहिलो भेट भएको बताइएको छ। स्रोतका अनुसार उनीहरूबीच एकान्तमा ‘वान–टु–वान’ कुराकानी भएको थियो।
पार्टीले आइतबारसम्म समानुपातिकतर्फ पठाइने उम्मेदवारहरूको टुंगो लगाउनुपर्नेछ। साथै, बालेन नेतृत्वमा बन्न सक्ने सम्भावित मन्त्रिपरिषद्का विषयमा प्रारम्भिक तयारी पनि गर्नुपर्ने भएकाले यी विषयमा लामिछाने र साहबीच सामान्य छलफल भएको स्रोतले जनाएको छ।








