समाचार सुन्नुहोस :
काठमाडौँ – राहदानी विभागले राहदानी वितरण सेवा केही दिनका लागि अवरुद्ध हुन सक्ने जनाएको छ। पुरानो प्रणाली हटाएर नयाँ प्रणाली जडान गर्ने प्रक्रियाका कारण सेवा अस्थायी रूपमा प्रभावित हुन सक्ने विभागले सूचनामार्फत् जानकारी दिएको हो।
विभागका अनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म बन्द हुन सक्छ। यस्तै, राहदानी विभागबाट प्रत्यक्ष प्रदान गरिने सेवा भने करिब एक हप्तासम्म अवरुद्ध हुने सम्भावना रहेको बताइएको छ।
नयाँ प्रणाली जडानपछि पूर्ण रूपमा स्थिर हुन एकदेखि तीन महिनासम्म समय लाग्न सक्ने विभागको भनाइ छ। त्यस अवधिमा जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमार्फत् आवेदन दिँदा राहदानी तयार भएर जारी हुन हालको भन्दा बढी समय लाग्न सक्ने जनाइएको छ।
विभागले आगामी छ महिनाभित्र राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई अन्तरिम अवस्था सुरु हुनु अघि नै सम्बन्धित निकायमा पुगेर सेवा लिन आग्रह गरेको छ।








