समाचार सुन्नुहोस :
काठमाडौँ – इनिशा बिक हत्या प्रकरणको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै विभिन्न समूहले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।
उत्पीडित जेन–जी फोर्स, जात व्यवस्था उन्मूलन मोर्चा नेपाल र वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन नेपाललगायतका संगठनले बिहीबार माइतीघरमा प्रदर्शन गर्दै घटनाको गम्भीर अनुसन्धान गर्न र संलग्न व्यक्तिलाई कठोर कारबाही गर्न माग गरेका हुन्। प्रदर्शनमा सहभागीहरूले ‘इनिशा बिकका हत्यारालाई कारबाही गर’, ‘बालबालिकामाथि हुने हिंसा अन्त्य गर’, ‘पितृसत्ता मुर्दावाद’ तथा ‘बलात्कारी जन्माउने व्यवस्थालाई ध्वस्त पारौँ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
त्यसैगरी, बलात्कारका सबै घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग पनि उनीहरूले राखेका छन्। सुर्खेतको वीरेन्द्रनगरस्थित एक सामुदायिक वनमा इनिशा बिक मृत अवस्थामा फेला परेकी थिइन्। पोस्टमार्टम रिपोर्ट र पक्राउ परेका व्यक्तिहरूको बयानका आधारमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।








