टोकियो – जापानको गुन्मा प्रान्तका एक ६३ वर्षीय सरकारी कर्मचारीलाई पर्याप्त बिदा नहुँदा नहुँदै पनि १०९ दिने समुद्री भ्रमणमा गएको भन्दै तीन महिनाका लागि निलम्बन गरिएको छ ।
भू-विकास विभागमा कार्यरत ती वरिष्ठ विशेषज्ञले सन् २०२५ को अप्रिलमा आफ्नो वैदेशिक भ्रमणको योजना पेश गरेका थिए । उनको सञ्चित बिदाले नधान्ने भएपछि कार्यालयले उनलाई दुई पटक मौखिक र दुई पटक लिखित चेतावनी दिँदै राजीनामा दिन समेत सुझाव दिएको थियो । तर, ‘म राजीनामा दिन्नँ’ भन्दै उनी अगस्ट १९ मा योकोहामा बन्दरगाहबाट विश्व भ्रमणका लागि निस्किएका थिए ।
डिसेम्बर ५ मा स्वदेश फर्कनुअघि उनले सिंगापुर, दक्षिण अफ्रिका र अमेरिकासहित १० भन्दा बढी देशको भ्रमण गरे । भ्रमणको कुल १०९ दिनमध्ये सबै बिदा र सार्वजनिक बिदा कट्टा गर्दा पनि उनी १४ दिन विना अनुमति काममा अनुपस्थित रहेका थिए ।
अवकाशपछि पुनः नियुक्त भएका ती कर्मचारीलाई गुन्मा प्रान्तीय सरकारले मार्च १० देखि लागू हुने गरी निलम्बन गरेको हो । उनलाई आगामी आर्थिक वर्षका लागि पुनः नियुक्ति नदिने निर्णय पनि गरिएको छ । कर्मचारीले आफ्नो गल्ती स्वीकार गर्दै अनुशासनको कारबाही भोग्न तयार रहेको बताएका छन् ।








