टोकियो – जापानको साइतामा प्रान्तस्थित एक बाल अस्पतालमा केमोथेरापीका क्रममा गम्भीर त्रुटि हुँदा एकजना क्यान्सर पीडित बालकको मृत्यु भएको छ भने अन्य दुई बालकको अवस्था गम्भीर रहेको छ । टोकियो नजिकै रहेको ‘साइतामा प्रान्तीय बाल चिकित्सा केन्द्र’ले बुधबार पत्रकार सम्मेलन गर्दै उक्त दुःखद घटनाबारे जानकारी दिएको हो ।
अस्पतालका अनुसार रक्त क्यान्सर (ल्युकेमिया) को उपचार गराइरहेका तीन बिरामीहरूलाई मेरुदण्डको हड्डीमा सुईमार्फत औषधी दिने क्रममा गल्ती भएको पाइएको छ । चिकित्सकहरूले नसाबाट दिनुपर्ने ‘भिनक्रिस्टिन’ नामक औषधी झुक्किएर मेरुदण्डको हड्डीभित्र सुईमार्फत दिएका थिए । यो औषधी मेरुदण्डमा दिँदा स्नायु प्रणालीमा गम्भीर क्षति पुग्ने जोखिम रहने चिकित्सकहरूले बताएका छन् ।
अस्पतालले दिएको जानकारी अनुसार पीडित तीनैजना २० वर्ष मुनिका बालक तथा किशोरहरू हुन्, जसमध्ये एकजना १० वर्षभन्दा कम उमेरका छन् । गत वर्षको जनवरीदेखि अक्टोबरको बीचमा उनीहरूलाई उक्त इन्जेक्सन दिइएको थियो । उपचारका क्रममा रहेका एक बिरामीको गत फेब्रुअरीमा मृत्यु भएको थियो भने अन्य दुईजना अझै पनि अचेत अवस्थामा रहेका छन् । उनीहरूको अवस्था अत्यन्तै चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।
अस्पताल प्रशासनले मंगलबार नै यस घटनाबारे स्थानीय प्रहरीलाई जानकारी गराइसकेको छ । अस्पतालले यस घटनामा मानवीय त्रुटि मात्र नभई आपराधिक गतिविधिको सम्भावनालाई पनि नकार्न नसकिने बताएको छ । सम्बन्धित औषधीलाई अस्पतालको सुरक्षित ‘लक’ गरिएको कोठामा राखिने भए पनि यति ठूलो त्रुटि कसरी हुन पुग्यो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको छ ।
अस्पतालले आफ्नो तर्फबाट भएको गल्ती स्वीकार गर्दै पीडितका परिवारसँग माफी मागेको छ र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन उच्च सतर्कता अपनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।








