काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनमा आफ्नो पराजय स्वीकार गर्दै जनताको फैसलालाई उच्च सम्मान गर्ने बताएका छन् । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहसँग पराजित भएपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
उनले यस पटकको निर्वाचनमा आफू र आफ्नो पार्टीले अपेक्षा गरेअनुसारको परिणाम प्राप्त गर्न नसकेको स्वीकार गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो । जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु ।’
पराजित भए पनि कठिन घडीमा आफू र आफ्नो पार्टीलाई साथ दिनेहरूप्रति उनले आभार व्यक्त गरे । सूर्य चिह्नमा मतदान गर्ने मतदाता, पार्टीका नेता, कार्यकर्ता, स्वयंसेवक र शुभेच्छुकहरूलाई धन्यवाद दिँदै उनले जनताको विश्वास नै आफ्नो मुख्य शक्ति भएको बताए । निर्वाचनको परिणाम प्रतिकूल आए पनि जनसेवा र देशप्रतिको आफ्नो प्रतिबद्धतामा कुनै कमी नआउने उनले प्रष्ट पारे । उनले भने, ‘हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ ।’








