समाचार सुन्नुहोस :
काठमाडौँ – सरकार र दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान बीच आजका लागि घोषणा गरिएको नेपाल बन्द र अनिश्चितकालीन आमहड्ताल फिर्ता लिने सहमति भएको छ।
शनिबार बालुवाटारमा सरकार र महाअभियानका प्रतिनिधिबीच भएको छलफलमा २७ बुँदे मागबारे विस्तृत चर्चा भएको र त्यसपछि बन्द कार्यक्रम फिर्ता लिएको महाअभियानले जनाएको छ। वार्तामा वर्तमान शान्ति–सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै महाअभियानले उठाएका मुद्दा समाधानका लागि सरकारले निरन्तर वार्ता र सहजीकरण गर्ने सहमति पनि बनेको छ।
वार्तामा महाअभियानतर्फबाट सचिव प्रेमदीप लिम्बुको नेतृत्वमा अधिवक्ता विनोदमणि भट्टराई, लवण न्यौपाने र डा. नीराजन प्रसाईँ सहभागी भए। सरकारतर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल, सल्लाहकार गोविन्दनारायण तिमिल्सनासहितको टोली उपस्थित थियो। बैठकले महाअभियानको मुख्य नेतृत्वसहित अर्को चरणको वार्ता छिट्टै गर्ने समझदारी पनि गरेको छ।








