टोकियो – ताइवानले सन् २०११ को फुकुसिमा दाइची आणविक भट्टी दुर्घटनापछि जापानी खाद्य सामग्रीको आयातमा लगाएका बाँकी सबै प्रतिबन्धहरू हटाएको छ । ताइवानको स्वास्थ्य मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जापानी खाद्य उत्पादनहरूमाथिको आयात नियमन खारेज गर्ने घोषणा गरेको हो ।
मन्त्रालयका अनुसार यो निर्णय तत्काल प्रभावकारी रूपमा कार्यान्वयनमा आउनेछ । यसअघि फुकुसिमा, इबाराकी, तोचिगी, गुन्मा र चिबा प्रिफेक्चर (प्रान्त) बाट आयात हुने खाद्य पदार्थका लागि रेडियोधर्मी पदार्थको परीक्षण रिपोर्ट अनिवार्य गरिएको थियो। तर, नयाँ निर्णयसँगै अब यस्तो रिपोर्ट पेस गर्नुपर्ने छैन । साथै, अबदेखि कुनै पनि जापानी खाद्य उत्पादनका लागि ‘उत्पत्तिको प्रमाणपत्र’ समेत आवश्यक नपर्ने मन्त्रालयले जनाएको छ ।
प्रतिबन्ध हटाउने निर्णय गर्नुअघि मन्त्रालयले यस विषयमा सार्वजनिक राय तथा सुझाव माग गरेको थियो । सो क्रममा सर्वसाधारण वा सरोकारवाला पक्षबाट कुनै पनि विरोध नआएको मन्त्रालयले स्पष्ट पारेको छ ।
ताइवानले विगत केही समयदेखि जापानी खानामाथिको कडाइलाई चरणबद्ध रूपमा खुकुलो बनाउँदै आएको थियो । यो पछिल्लो र निर्णायक कदमसँगै अब जापानमा उत्पादन तथा वितरण हुने सबै प्रकारका खाद्य वस्तुहरू ताइवानमा निर्बाध रूपमा भित्रिन पाउने भएका छन् ।








