समाचार सुन्नुहोस :
काठमाडौँ – बुधबार बाराको सिमरामा जेनजी युवाहरू र नेकपा एमालेका नेता–कार्यकर्ताबीच भएको झडपपछि वातावरण तनाबपूर्ण बनेको थियो। तर शुक्रबार साँझ जेनजी समूह र जिल्ला सुरक्षा समिति बाराबीच वार्ता भएपछि अवस्था शनिबारदेखि सामान्य बन्दै गएको स्थानीय प्रशासनले जनाएको छ।
बुधबार र बिहीबार जेनजी समूहले सडक अबरुद्ध गर्दै आन्दोलन गरेका थिए। उनीहरूले भदौ २३ र २४ गते देशभर भएको जेनजी आन्दोलनका क्रममा तत्कालीन सरकारले अत्यधिक बल प्रयोग गरी युवाहरूको हत्या गरेको भन्दै जिम्मेवार तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री लगायतलाई कानुनी कारबाही गर्न माग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्दै आएका थिए। यही क्रममा एमाले निकट नेता तथा कार्यकर्ताबाट हातपात भएपछि झडप भएको जेनजी बाराका संयोजक सम्राट् उपाध्यायले बताए।
शुक्रबारको वार्तामा जेनजी युवाहरूले ६ बुँदे माग राखे। घटनामा संलग्न योजनाकारलाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने, घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने, तत्कालीन जिल्ला प्रहरी प्रमुखसहित सम्बन्धित अधिकारीमाथि कारबाही गर्नुपर्ने माग उनीहरूले अघि सारेका छन्।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रसहित सुरक्षा निकायका प्रतिनिधि र जेनजी समूहबीच सहमति बनेपछि सोमबारसम्मका लागि सबै आन्दोलन कार्यक्रम स्थगित गरिएको छ। आन्दोलन रोकिएको कारण शनिबार बिहानैदेखि सिमरा क्षेत्र सामान्य बन्दै गएको छ। स्थानीयबासी आफ्ना दैनिक काममा फर्किएका देखिन्छन्।








