समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले खुलामञ्चको चौरलाई हरियाली र सुविधायुक्त सार्वजनिक स्थानका रूपमा विकास गरेको छ। करिब १४ हजार ६ सय वर्गमिटर क्षेत्रफलमा प्राकृतिक दुबो रोपेर चौरलाई आकर्षक बनाइएको हो। खेलकुद पूर्वाधार सुधार कार्यक्रमअन्तर्गत मलिलो माटो राखी दुबो रोप्ने काम गरिएको हो। यसका लागि करिब ९० लाख रुपैयाँ खर्च भएको छ।
चौर वरिपरि चार मिटर चौडाइको पैदल मार्ग बनाइएको छ। सहरका अन्य ठाउँबाट निकालिएका हेक्जागोनल ब्लक र न्युरोडबाट हटाइएका बिजुलीका पोलहरू पुनःप्रयोग गरिएको छ। पैदल मार्गमा २१ वटा पोलमा दिन-रात आफैँ बल्ने–निभ्ने बत्ती जडान गरिनेछ। खुलामञ्चलाई सबैका लागि खुला सार्वजनिक स्थानका रूपमा उपयोग गरिनेछ। बिहान व्यायाम, बालबालिकाका खेल, वृद्धवृद्धाका लागि हिँड्ने र आराम गर्ने ठाउँ, युवाहरूका लागि खेल प्रशिक्षण र मनोरञ्जन गर्न सकिने सुविधा हुनेछ। पश्चिमतर्फ पार्किङ र भलिबल तथा ब्याडमिन्टन खेल्न मिल्ने ठाउँ पनि बनाइएको छ।
चौरमा पानी नजम्ने र भू-जल पुनर्भरण हुने व्यवस्था मिलाउन ६ ठाउँमा पानी सोसिने पिट निर्माण गरिएको छ। मैदान सफा गर्न तीन महिनासम्म दैनिक ५० जनशक्ति खटाइयो। खुलामञ्च कुल २३ हजार ४१५ वर्गमिटर क्षेत्रमा फैलिएको छ। विगतमा यो स्थान सार्वजनिक यातायात पार्किङ तथा भूकम्पपछिको पुनर्निर्माण कार्यका लागि प्रयोग गरिएको थियो।








