टोकियो – टोकियोको उच्च अदालतले सन् २०१७ (२०७४ साल)मा प्रहरी हिरासतमा यातनाका कारण मृत्यु भएका एक नेपाली पुरुषको परिवारलाई २५०,००० डलर क्षतिपूर्ति दिने आदेश दिएको छ । २०७४ सालमा टोकियोमा झुठा आरोपमा पक्राउ परेका ३९ वर्षीय नेपाली नागरिकको हिरासतमा मृत्यु भएको थियो । परिवारले हालेको मुद्दामा उच्च अदालतले क्षतिपूर्तिसहितको फैसला सुनाएको हो ।
प्रहरीले ती व्यक्तिलाई क्रेडिट कार्ड दुरुपयोगको आरोपमा पक्राउ गरेको थियो । टोकियो जिल्ला सार्वजनिक अभियोजकको कार्यालयमा सोधपुछका क्रममा उनी बेहोस भएका थिए र पछि अस्पतालमा उनको मृत्यु भयो । प्रहरी हिरासतमा रहँदा उनको हात र खुट्टा डोरीले बाँधिएको थियो । मृतककी पत्नीले प्रहरी र अभियोजकहरूले श्रीमान्लाई गरेको व्यवहार अनुपयुक्त भएको दाबी गर्दै करिब ६ करोड येन (लगभग ३ लाख ९० हजार डलर) क्षतिपूर्तिको माग गरेकी थिइन् ।
सन् २०२३ मा, टोकियो जिल्ला अदालतले नियन्त्रणको विधिलाई गैरकानूनी ठहर गरेको थिएन, तर मानिसलाई उचित चिकित्सा उपचार दिन असफल भएकोमा टोकियो महानगर सरकारलाई लगभग ६ हजार डलर तिर्न आदेश दियो । दुवै पक्षले पुनरावेदन गरे ।
बुधबार टोकियो उच्च अदालतमा सुनुवाइ गर्दै अध्यक्ष न्यायाधीशले चार जना प्रहरी कर्मचारीले ती व्यक्तिलाई चार पटक ह्यान्डकफ लगाएर डोरीले बाँधेको र करिब दुई घण्टासम्म अनावश्यक बल प्रयोग गरी नियन्त्रणमा लिएको बताए । जसले गर्दा उनको रक्तसञ्चारमा गम्भीर असर परेको औंल्याइन् । उनले शारीरिक नियन्त्रणले नै ती व्यक्तिको मृत्यु भएको स्वीकार गरिन् ।
न्यायाधीशले टोकियो महानगर सरकारलाई मृतकको परिवारलाई करिब ३ करोड ९० लाख येन (लगभग २ लाख ५० हजार डलर) तिर्न आदेश दिए । तल्लो अदालतले आदेश दिएको क्षतिपूर्ति रकम भन्दा यो निकै बढी हो ।








