समाचार सुन्नुहोस :
काठमाडौँ – राहदानी छिटो बनाइदिने भन्दै सेवाग्राहीसँग अतिरिक्त रकम लिने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई सोमबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
पक्राउ परेका मध्ये ललितपुर–९ बस्ने पाँचथरका २६ वर्षीय सञ्जय आङ्देम्बे, शंखरापुर–६ का 32 वर्षीय ख्यामबहादुर श्रेष्ठ, काठमाडौं–३२ बस्ने सिन्धुपाल्चोकका २५ वर्षीय प्रेमबहादुर लामा र काठमाडौं–२८ का १८ वर्षीय एक किशोर छन्। त्यसै गरी काठमाडौं–२६ बस्ने सुर्खेतका २९ वर्षीय टेकबहादुर सुनार, कागेश्वरी मनोहरा–९ का ३० वर्षीय साजन श्रेष्ठ, नागार्जुन–६ बस्ने रामेछापका ४० वर्षीय गोकुलबहादुर श्रेष्ठ र कागेश्वरी मनोहरा–८ बस्ने सिन्धुपाल्चोकका ३८ वर्षीय जीवन लामा पनि पक्राउ परेका छन्।
प्रहरीका अनुसार उनीहरूले त्रिपुरेश्वरस्थित राहदानी विभागको मुलगेट बाहिर सेवाग्राहीलाई ‘राहदानी छिटो बनाइदिन्छौं’ भन्दै पैसा लिने काम गर्दै आएका थिए। विभागका कर्मचारीको काममा अवरोध पुगेको सूचनापछि टेकुस्थित अपराध अनुसन्धान कार्यालयले निगरानी गरी उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।








