समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौँको पशुपतिनाथसहित देशभरका शक्तिपीठहरूमा बालाचतुर्दशीको अवसरमा रातभर जाग्रम बसेर महादीप बाल्ने भक्तजनको भीड लागेको छ। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन दिवंगत पितृको मोक्षको कामना गर्दै यो पर्व मनाइन्छ।
भक्तजनहरूले दिवंगत पितृका नाममा अखण्ड दीप र महादीप बाली रातभर जाग्राम बस्ने परम्परा छ। बालाचतुर्दशीको दिन बिहान शतबीज छर्न पशुपति क्षेत्रमा हजारौँ भक्तजनको भीड लाग्ने गरेको छ। यही परम्पराअनुसार देशका अन्य शक्तिपीठहरूमा पनि जाग्राम, दीप प्रज्वलन र शतबीज छर्ने क्रम चलेको छ। परिवारका दिवंगत आत्माको चिरशान्तिको कामनासहित श्लेषमान्तक वन, १०८ शिवलिङ्ग, कैलाशडाँडा, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, मृगस्थली, विश्वरूप र किराँतेश्वर क्षेत्रलगायत स्थानमा शतबीज छर्ने गरिन्छ।
बालाचतुर्दशीअघिको दिन, मंगलबार राति, भक्तजनहरूले पशुपतिनाथ क्षेत्रमा बसेर पितृका नाममा महादीप बाल्दै भजन–कीर्तन र लोक झाँकीसहित रातभर पूजा–आराधना गरेका थिए।








