टोकियो – जापानको पश्चिमी फुकुओका प्रान्तको पहाडी क्षेत्रमा मंगलबार बिहान एउटा सानो विमान दुर्घटना हुँदा विमानमा सवार सबै तीन जनाको मृत्यु भएको छ ।
यामे शहर, फुकुओका प्रान्तमा बिहान १०:४५ बजेतिर एउटा सानो विमान दुर्घटनाग्रस्त भएको र त्यसबाट कालो धुँवा निस्किरहेको जानकारी अग्निनियन्त्रकहरूलाई दिइएको थियो । प्रहरीसँगको सहकार्यमा खोजी गर्दा ओइटा प्रान्तको सिमाना नजिकैको पहाडमा दुर्घटनाग्रस्त विमान र तीन जनाको शव मध्याह्नतिर फेला परेको अधिकारीहरूले बताएका छन् ।
दिउँसो १२:३० बजेतिर खिचेको फुटेजमा जङ्गलबाट आगोको ज्वाला निस्किरहेको देखिएको थियो । पहाडको फेदीमा सेतो भग्नावशेष छरपष्ट अवस्थामा थियो । छिमेकी सागा प्रान्तका विमानस्थल अधिकारीहरूले बिहान १०:१० बजेतिर ओसाकाको याओ विमानस्थलका लागि उडेको र तीन जना सवार एउटा विमानसँग सम्पर्क हुन नसकेको बताएका छन् ।








