Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला ‘सेलिब्रिटी फेस’हरूको बाक्लो उपस्थिति देखिएको छ । निर्वाचनको चहलपहलसँगै नयाँ राजनीतिक दलहरूको उदय र जनमानसमा प्रभावशाली छवि बनाएका कलाकारहरूको बढ्दो संलग्नताले कला र राजनीतिबीचको सम्बन्धलाई नयाँ परिभाषा दिइरहेको छ । यो प्रवृत्तिले एकातिर राजनीतिमा नयाँ ऊर्जा र जनसम्पर्कको आयाम थपेको छ भने अर्कोतिर कलाकारिताको मूल मर्ममाथि प्रश्नचिह्न खडा गरेको छ । 

विश्वव्यापी रूपमै कलाकारहरू मनोरञ्जनको क्षेत्रबाट राजनीतिक नेतृत्वमा पुगेका अनगिन्ती उदाहरणहरू छन् । भारतमा अमिताभ बच्चन, जयललिता, चिरञ्जीवी जस्ता दिग्गज कलाकारहरू राजनीतिमा सफल भएका छन् भने हलिउडमा रोनाल्ड रेगन, अर्नाल्ड श्वार्जनेगर जस्ता हस्तीहरूले पनि उच्च राजनीतिक पद सम्हालेका छन् । नेपालमा पनि यो क्रम लामो समयदेखि जारी छ ।

स्थापित कलाकारहरूलाई पार्टीहरूले ‘पपुलर फेस’ का रूपमा प्रयोग गर्दै आएका छन्, जसले गर्दा निर्वाचनमा जनमत आकर्षित गर्न सहज हुने गरेको छ । चलचित्र विकास बोर्ड र सांस्कृतिक परिषद् जस्ता सरकारी निकायमा हुने राजनीतिक नियुक्तिहरूले पनि कलाकारहरूलाई राजनीतिमा आकर्षित गर्ने महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ । यो आकर्षणले कलाकारहरूलाई जनतासँग सीधा जोडिन र उनीहरूको आवाजलाई नीति निर्माणको तहसम्म पुर्‍याउन सहयोग पुगेको कतिपयको भनाइ छ ।

कलाकारलाई समाजका ‘स्पन्दन’ मानिन्छ, जसले जनभावना, आकांक्षा र समस्यालाई कलात्मक रूपमा प्रस्तुत गर्छन् । कला निष्पक्ष हुनुपर्छ, सत्य बोल्नुपर्छ, र आवश्यक परे सत्तालाई प्रश्न गर्न सक्नुपर्छ भन्ने मान्यताका बाबजुद नेपालमा कलाकारको कलात्मक योगदानभन्दा बढी उनीहरूको व्यक्तिगत जीवन, विवाद, प्रेम-सम्बन्ध, सामाजिक सञ्जालका गतिविधि र पार्टीगत निकटता चर्चामा आउने गरेको छ । यही निजी जीवनभित्र राजनीतिका धागाहरू पनि बुनेका हुन्छन्- कसैको पारिवारिक सम्बन्ध, कसैको व्यक्तिगत निकटता, कसैको पार्टीगत समर्थन ।

आजभोलि धेरै कलाकारहरू खुलेरै राजनीतिक दलहरूको वकालत गरिरहेका छन् । प्रचारप्रसारमा सहभागी हुने, चुनावी अभियानमा गीत प्रस्तुत गर्ने, पार्टी कार्यक्रम सञ्चालन गर्ने, राजनीतिक मुद्दामा धारणा बनाउने जस्ता गतिविधिले कलाकारलाई प्रत्यक्ष राजनीतिक भूमिकामा प्रवेश गराएको छ । सतहमा देखिएका केही नामले मात्र होइन, पर्दामा देखिने धेरै कलाकार कहिले सांस्कृतिक कार्यक्रममार्फत, कहिले सामाजिक अभियानमार्फत, कहिले प्रत्यक्ष सल्लाहकारका भूमिकामार्फत राजनीतिसँग गहिरो सम्बन्ध गाँसिरहेका छन् । यसले कलाकारको प्राथमिक भूमिका के हो भन्ने एउटा महत्त्वपूर्ण प्रश्न उठाएको यस क्षेत्रका विज्ञहरू बताउँछन् । ‘कला र समाजप्रतिको उत्तरदायित्वलाई निभाउँदै राजनीतिक सचेतना फैलाउने कि प्रत्यक्ष राजनीतिक संलग्नताले कलाकारितालाई छायामा पार्ने ?’ यो द्वन्द्व अहिले नेपाली मनोरञ्जन क्षेत्रको मूल बहस बनेको छ ।

नेपालमा कलाकारको राजनीतिक प्रवेश नयाँ होइन । पछिल्ला वर्षमा अभिनय र सङ्गीत दुवै क्षेत्रमा स्थापित धेरै नाम राजनीतिमा उभिएका छन् । गायिका कोमल वली, राप्रपादेखि एमालेसम्मको राजनीतिक यात्रामा सक्रिय छन् । नायिका रेखा थापा तत्कालीन माओवादी हुँदै यतिबेला राप्रपामा छन् । नायिका करिश्मा मानन्धर डा. बाबुराम भट्टराईको नयाँ शक्ति हुँदै केही समय एमालेमा सक्रिय रहेर अहिले राजनीतिक विश्राममा छन् । त्यस्तै, हास्य कलाकार हिमेश पन्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सक्रिय छन् ।

युवराज लामा, राजकुमार राई, नीर शाह, रूपा राना, राधिका हमाल, रवीन्द्र खड्का, नलिना चित्रकार, धर्मेन्द्र मर्वैता, रोज राणा, मनोज पण्डित, सञ्जय श्रेष्ठ, मधुकुमार श्रेष्ठ, करण श्रेष्ठ, शिवशंकर रिजाल लगायतका कलाकार कुनै न कुनै रूपमा पार्टीमा आबद्ध भएर वा स्वतन्त्र रूपमा नेपाली राजनीतिमा देखा परे । धेरै कलाकार विभिन्न राजनीतिक दलका भ्रातृ संगठनमा आबद्ध पनि छन् ।

नयाँ राजनीतिक दल र ‘सेलिब्रिटी फेस’को उदय
सरकारले प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा गरेसँगै राजनीतिक वृत्तमा असाधारण चहलपहल सुरु भएको छ । ‘जेनजी’ आन्दोलनका कारण उत्पन्न परिस्थिति र अन्तरिम सरकारको चुनाव घोषणासँगै नयाँ-नयाँ राजनीतिक दल गठनको लहर तीव्र बनेको छ । चलचित्र, मोडलिङ, मिडिया र मनोरञ्जन क्षेत्रका धेरै कलाकार अहिले एकपछि अर्को गर्दै नवगठित दलमा प्रवेश गरिरहेका छन् ।

  • निशा अधिकारी : अभिनेत्री तथा निर्मात्री निशा अधिकारी गतिशील लोकतान्त्रिक पार्टी’को केन्द्रीय सदस्य बनेकी छन् । व्यवसायी तथा बुद्ध एयरलाइन्सका मालिक वीरेन्द्रबहादुर बस्नेत, समाजशास्त्री दिनेश प्रसाईंलगायत व्यक्तिहरूको सक्रियतामा गठन भएको ‘गतिशील लोकतान्त्रिक पार्टी’ले हालै मात्र निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाइसकेको छ । निशा नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री मात्र होइनन्, सामाजिक गतिविधिमा सक्रिय युवा हस्तीका रूपमा पनि परिचित छन् । कलाकार भूमिकाभित्र सीमित नभई सार्वजनिक नीति, सुशासन र सामाजिक सशक्तीकरण जस्ता विषयमा काम गर्न सक्ने चाहना रहेको उनले प्रस्ट्याइन् ।

  • रीमा विश्वकर्मा : कलाकार रीमा विश्वकर्मा हालसालै ‘उज्यालो नेपाल पार्टी’मार्फत राजनीतिक यात्रामा उभिएकी छिन् । ऊर्जामन्त्री तथा नेपाल विद्युत् प्राधिकरणका पूर्व-प्रमुख कुलमान घिसिङको समर्थनमा स्थापित दलले रीमालाई पनि पार्टीले केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । मिडिया तथा आमसञ्चार क्षेत्रमा लामो समय सक्रिय रही जनजीवनका मुद्दा उठाउँदै आएकी उनी अब राजनीतिक नेतृत्वमा प्रत्यक्ष सहभागिता जनाएर समस्या समाधानमा योगदान दिन चाहन्छिन् ।

  • एलिजा गौतम : अभिनेत्री एलिजा गौतम पनि नयाँ राजनीतिक दल ‘जनादेश पार्टी नेपाल’सँग आबद्ध भएकी छिन् । निर्वाचन आयोगमा दर्ता भएको केही दिनमै पार्टीले उनलाई केन्द्रीय उपाध्यक्षको जिम्मेवारी दिएको छ । यसअघि उनी ‘नागरिक उन्मुक्ति पार्टी’मा प्रवेश गरे पनि करिब ६ महिनामै त्यहाँबाट बाहिरिइन् ।’जतिसुकै क्षमता र स्रोत भएकाले पनि भ्रष्टाचार हटाएन भने विकास सम्भव हुँदैन । जनादेश पार्टीले यही खालको दृढ प्रतिबद्धता बोकेको छ,’ उनले भनिन् ।

कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार, कलाकारहरूको सार्वजनिक छवि र जनसम्पर्क सहज हुने भएकाले राजनीतिमा उनीहरूको प्रवेश स्वाभाविक हो । नयाँ दलहरूका लागि कलाकारहरू लोकप्रियता बटुल्ने ‘तुरुन्त प्रभावकारी’ अनुहार हुन् । वरिष्ठ कलाकार उत्तम केसीले धेरै कलाकार सामाजिक अभियन्ताका रूपमा सक्रिय रहने गरेको र सामाजिक मुद्दाहरू स्वतः राजनीतिका नजिकका विषय भएकाले राजनीति प्रवेश स्वाभाविक परिणाम बन्न सक्ने बताए । कलाकारको राजनीतिक प्रवेशलाई सकारात्मक र नकारात्मक दुवै रूपमा हेर्न सकिन्छ ।

उनीहरूको लोकप्रियता, भाषिक क्षमता, संवेदनशीलता र सामाजिक पहुँचले राजनीतिमा सकारात्मक प्रभाव पार्न सक्छ । उनीहरूले जनताको वास्तविक आवाज उठाउन, जनचेतना फैलाउन र नीतिगत मुद्दामा पहलकदमी गर्न सक्छन् । तर, यसमा जोखिमहरू पनि उत्तिकै छन् । राजनीतिक विश्लेषकहरूका अनुसार कलाकारिताबाट दूरी बढ्दै जान सक्छ, राजनीतिक विवादले उनीहरूको छवि विभाजित हुन सक्छ, लोकप्रियता राजनीतिक साधनमा सीमित हुन सक्छ र राजनीतिक असफलताले कला-जगत्मा फर्किन अप्ठ्यारो पर्न सक्छ ।

लेखक साहित्यकार डा. डिआर उपाध्यायका अनुसार, कलाकार राजनीति प्रवेश गर्नु गलत होइन, तर उनीहरूको मूल पहिचान कला, सिर्जना र जनभावनाको प्रतिनिधित्व कहिल्यै छायामा पर्नु हुँदैन । ‘कला समाजको दर्पण हो, राजनीतिले त्यो दर्पण बिगार्नु हुँदैन,’ उनले भने ।

तपाईको प्रतिक्रिया