काठमाडौं – केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाल ट्रस्टको जग्गा भाडामा दिँदा भएको अनियमितता प्रकरणमा तत्कालीन सचिव अर्जुनकुमार कार्कीलाई पक्राउ गरेको छ । सेवा निवृत्त भइसकेका कार्कीलाई ठगी तथा आपराधिक विश्वासघात कसुरमा संलग्नता देखिएको भन्दै सिआइबीले पक्राउ गरेको हो ।
यसअघि यसै प्रकरणमा तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । सिआइबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार दरबारमार्गमा रहेको नेपाल ट्रस्टको नाममा दर्ता जग्गा थामशेर्कु ट्रकिङ प्रालिलाई लिजमा दिने क्रममा गम्भीर अनियमितता भएको पाइएको छ । प्रारम्भिक अनुसन्धानबाट २०७४ जेठ १४ गते भएको करार सम्झौतामा बदनियतपूर्वक कित्ता नम्बर ४६०६ को जग्गाका अतिरिक्त अर्को कित्ता नम्बर ४६०५ समेत थप गरी लिजमा दिइएको खुल्न आएको छ ।
सिआइबीको अनुसन्धानले तत्कालीन सचिव कार्कीको संलग्नतामा ट्रस्टलाई दीर्घकालीन रूपमा ठूलो आर्थिक नोक्सानी हुने गरी तीन वर्षको निर्माण अवधि सहित ३० वर्षका लागि जग्गा लिजमा दिने निर्णय भएको देखाएको छ । गैरकानुनी तरिकाले लाभ लिएर ट्रस्टको सम्पत्ति हिनामिना गरेको आरोपमा कार्कीमाथि थप अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ ।








