टोकियो – जापानमा दैनिक उपभोग्य वस्तुमध्ये सबैभन्दा महत्वपूर्ण मानिने चामलको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । सरकारी तथ्यांकअनुसार, ५ किलोग्राम चामलको मूल्य ४ हजार ३ सय १६ येन (लगभग २८ डलर) पुगेको छ । जुन अहिलेसम्मकै उच्च हो ।
कृषि मन्त्रालयले देशभरका करिब १,००० सुपरमार्केटहरूमा गरेको सर्वेक्षणअनुसार, अघिल्लो हप्ताको तुलनामा मूल्य ८१ येन (लगभग ५२ सेन्ट) ले बढेको छ । यो तथ्यांक सन् २०२२ मार्चमा सर्वेक्षण सुरु भएयताकै सबैभन्दा उच्च हो, जसले यसअघि मे महिनाको मध्यमा कायम भएको ४ हजार २ सय ८५ येनको रेकर्डलाई पनि पछि पारेको छ ।
यसैगरी, करिब ६,००० सुपरमार्केट, औषधि पसल र अन्य खुद्रा स्टोरहरूमा गरिएको अर्को विस्तृत सर्वेक्षणले ५ किलोग्राम चामलको औसत मूल्य ४ हजार ४ सय ४४ येन (लगभग २९ डलर) रहेको देखाएको छ । यो तथ्यांक पनि यस वर्षको फेब्रुअरीमा सर्वेक्षण सुरु भएदेखिकै कीर्तिमानी उच्च मूल्य हो ।
कृषि मन्त्रालयले यस मूल्यवृद्धिका पछाडि मुख्यतया दुईवटा कारण औंल्याएको छ:-
१. नयाँ धानको उच्च मूल्य: भर्खरै भित्रिएको नयाँ धानको उत्पादन लागत र बजार मूल्य दुवै उच्च रहेको छ । मल, कीटनाशक, इन्धन र श्रमिकको लागत बढ्दा धान उत्पादकहरूले बढी मूल्यमा बिक्री गर्नुपर्ने अवस्था आएको छ, जसको सीधा असर चामलको खुद्रा मूल्यमा परेको छ ।
२. सरकारी स्टकको घट्दो बिक्री: जापान सरकारले बजारमा मूल्य नियन्त्रण गर्न र संकटकालका लागि चामलको भण्डारण गर्दै आएको छ । विगतमा कम मूल्यमा उपलब्ध हुने सरकारी स्टकको चामलको बिक्री घट्दा बजारमा तुलनात्मक रूपमा महँगा चामलको प्रभुत्व बढेको छ । यसले समग्र औसत मूल्यलाई माथि धकेलेको छ ।
चामलको मूल्यमा आएको यो वृद्धिले विशेषगरी निम्न तथा मध्यमवर्गीय परिवारको मासिक बजेटमा ठूलो दबाब सिर्जना गरेको छ । जापानमा चामललाई ‘स्टेपल फुड’ अर्थात् मुख्य खानाका रूपमा लिइन्छ, जसको उपभोग हरेक घरमा अनिवार्य हुन्छ । यस्तो अवस्थामा चामलको मूल्यवृद्धिले खाद्य सुरक्षा र जीवनयापनको लागतमाथि गम्भीर प्रश्न उठाएको छ ।
विश्लेषकहरूका अनुसार, विश्वव्यापी इन्धनको मूल्यवृद्धि, ढुवानी खर्चमा भएको बढोत्तरी र जापानको कमजोर येन (मुद्रा) का कारण आयातित वस्तुहरूको मूल्य बढ्नुले पनि समग्र खाद्यवस्तुको मूल्यमा चाप परेको छ ।








