समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था भएपछि नयाँ मतदाता दर्ता हुने संख्या उल्लेखनीय रूपमा बढ्न थालेको छ।
निर्वाचन आयोगले चाप कम गर्न कात्तिक २७ गतेदेखि परिचयपत्र भएका नागरिकले त्यही प्रयोग गरेर फोटो र औँठाछाप जस्ता जैविक विवरण दिन सक्ने व्यवस्था गरेको हो। यसपछि परिचयपत्र बनाउन र नामावली दर्ता गराउन उत्साहजनक रूपमा झनै बढेको आयोगले जनाएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोगले मतदाता नामावली दर्ता र अद्यावधिक कार्य अगाडि बढाएको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार शुक्रबार राति ९ बजे सम्म राष्ट्रिय परिचयपत्रमार्फत ५० हजार २१७ पुरुष, ३० हजार २३५ महिला र ४ अन्य गरी ८० हजार ४५६ नयाँ मतदाता थपिएका छन्।
यससँगै निर्वाचन घोषणा भएयता दर्ता भएका कुल मतदाता संख्या २ लाख ८१ हजार १२९ पुगेको छ। आयोगले आज पनि नामावली दर्ता कार्य निरन्तर जारी राखेको छ।








